नेपाल चलचित्र कलकार सङ्घको नेतृत्वका लागि पहिलोपल्ट महिला कलाकार सरिता लामिछानेले दाबी गरेकी छन् । पुरुष पकडमा रहेको सङ्घको नेतृत्वमा महिला पुर्याउन वरिष्ठ कलाकारहरूसमेत सक्रिय भएका छन् ।

नेपाली फिल्मका अभिनेत्रीहरू गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा खुलेरै सरितालाई जिताउने अभियानमा लागेका छन् । कलाकार सङ्घको अध्यक्ष पदमा लामिछाने र कलाकार रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । सरिताले पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिन् ।

उनले कलाकार सङ्घको भवन निर्माणमा जोड दिने प्रतिबद्धता गरेकी छन् । साथै कलाकारको पेन्सनका लागि पहल गर्नेसमेत बताएकी छन् । निर्वाचनको समयमा आफूमाथि विभिन्न आरोप लागेको बताउँदै उनले चित्त दुखाइन् । उनले भनिन्, ‘नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र बेइज्जती सहिरहनु परेको छ ।’ उनी तीन वर्ष कलाकार सङ्घमै महासचिव थिइन् ।