कालाबञ्जार/ सुनसरीका सुनिल चौधरी र आशिका चौधरीले दोस्रो संस्करणको थारू डान्सको उपाधि जितेका छन् ।
थारू जागरण अभियान सुनसरीको आयोजनामा शनिबार झुम्कामा सम्पन्न प्रतियोगितामा सुनिल र आशिकाको जोडीले अन्य जोडीलाई पराजित गर्दै १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा मनेस चौधरी र विनिता चौधरीको जोडी दोस्रो बनेको छ । उनीहरूले नगद ५० हजार रुपैयाँसहित ट्रफी जितेका छन् ।
त्यस्तै प्रभा चौधरी तेस्रो बनेकी छन् । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । यता व्यक्तिगत टाइटलतर्फ अनुशासनमा रिकेस चौधरी, मित्रतामा आशिष चौधरी, प्रगतिमा प्रितीमा चौधरी, थारू संस्कृतिमा अनुषा राजधामी, उत्कृष्ट पर्पmर्मेन्स अनु लिम्बू, उत्कृष्ट प्रिजेन्टेसन कृति चौधरी, पब्लिक भ्यूअर्स विकेश चौधरी बनेका छन् ।
उनीहरूलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको कार्यक्रम निशान प्रकृति थारूले बताए । विजेताहरूलाई आयोजकका अध्यक्ष तारादेवी चौधरी, थारू चलचित्रका अध्यक्ष चन्द्रकुमार चौधरी, निर्णायक थारू महानायक परशुराम चौधरी, मिस नेपाल इन्टरनेशनल २०१६ की वर्षा लेखी, राष्ट्रिय गायक सत्यनारायण चौधरी, थारु डान्स सिजन १ का विजेता प्रमानन्द चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
–प्रदीप जस्मैत चौधरी