याक्थुङ लेखक सङ्घ झापा शाखाले यही फागुन २४ गते झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टमा कविता तङ्सिङ–२ आयोजना गर्दै छ । कार्यक्रममा विभिन्न जिल्लाका ३७ जना याक्थुङ लिम्बू कविहरूले सङ्गीतमा कविता वाचन गर्नेछन् । यसअघि यालेसको उपत्यका समितिले राष्ट्रिय नाचघरमा सम्पन्न गरेको कविता तङ्सिङ–१ को निरन्तरता स्वरूप दोस्रो कविता तङ्सिङ गर्न लागिएको हो । यसपटकको तङ्सिङमा पहिलोपल्टको कार्यक्रमले नसमेटेका कविहरू समेटिनेछन् । कविता तङ्सिङ–२ बारे आयोजक संस्था याक्थुङ लेखक सङ्घ झापा शाखा अध्यक्ष मौलश्री लिम्बूसँग ब्लाष्टले गरेको कुराकानी ः

कविता तङ्सिङ भनेको हो ?
तङ्सिङ भनेको लिम्बू समाजमा गरिने सबैभन्दा ठूलो सांस्कृतिक अनुष्ठान हो । यसलाई हामीले कवितासँग जोड्न खोजेका हौं । कविताको भाषाबाट तङ्सिङ गर्न खोजिएको हो । त्यसैले कविता तङ्सिङलाई काव्यिक अनुष्ठान भनेर बुझ्दा फरक पर्दैन ।

कविता तङ्सिङ यो पहिलो हो ?
होइन, यसअघि नै याक्थुङ लेखक सङ्घ उपत्यका समितिले २०७६ भदौ २८ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरमा कविता तङ्सिङ–१ सम्पन्न गरिसकेको छ । त्यहाँ वैरागी काइँलालगायतका तुम्याहाङहरूको उपस्थितिमा २८ जना याक्थुङ (लिम्बू) कविहरूले लिम्बुवानी सभ्यता र पहिचान बोकेका कविता वाचन गरेका थिए । उक्त कविता तङ्सिङको सङ्गीत संयोजन मुन्धुम सङ्गीतका अभियन्ता झुमा लिम्बूको रैथाने सङ्गीत समूह र ब्लिस म्यूजिकले गरेका थिए । यही फागुन २४ गते झापाको दमकमा हुन गइरहेको चाहिँ कविता तङ्सिङ–२ हो ।

कविता तङ्सिङ–२ झापामा किन ?
कविता तङ्सिङ–२ ले पछिल्लो समयमा लिम्बू कवि वा समुदायले समाज र राष्ट्रप्रति के सोचिरहेका छन् ? जस्ता यावत् कुराहरू कविता तङ्सिङमा उजागर गर्न र याक्थुङ (लिम्बू) कविहरूको काव्यिक चेत कतातिर गइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि याक्थुङ लेखक सङ्घ झापा शाखाले दोस्रो कविता तङ्सिङ गर्न लागेको हो ।

कविता तङ्सिङ–२ ले समाज र राष्ट्र निर्माणमा कसरी सहयोग पुर्याउँछ ?
कविता तङ्सिङ–२ मा २३ जनाले नेपाली भाषामा र १४ जनाले लिम्बू भाषामा गरी ३७ जना याक्थुङ (लिम्बू) कविहरूले अनप्लग कविता वाचन गर्नेछन् । तङ्सिङको लागि दमककै रिस सङ्गीत विद्यालयले प्रत्येक कविताको भावअनुसारको सङ्गीत संयोजन गर्नेछ । यसले कवितामा याक्थुङ (लिम्बू) समाजको सभ्यता, संस्कृति, कला र इतिहासको उजागर हुनेछ । कवितालाई थप उचाइ दिन मद्दत पुग्नेछ । समाजमा भाइचारा र धार्मिक सहिष्णुता कायम गर्नसमेत सहयोग मिल्नेछ ।

साहित्य अनुत्पादक क्षेत्र हो, यसमा लागेर काम छैन भन्नेहरुलाई कविता तङ्सिङ–२ ले के सन्देश दिन्छ ?
कविता तङ्सिङ–२ ले दिने सन्देश भनेको ‘यो देशमा हामी पनि छौं’ भन्ने हो । नेपाली समाज जसरी बहुरङ्गी छ, त्यसलाई त्यसरी नै स्वीकार गर्नुपर्छ भन्ने हो । याक्थुङ (लिम्बू) कविहरूमार्फत् भाषा, समाज, संस्कृतिका कुरा साथै मिथक इत्यादिलाई कविताको माध्यमबाट बाहिर ल्याएर हामीसँग यी चिजहरू छन् भन्नु हो । कसैको एकल प्रभुत्वले मात्र राष्ट्रको साहित्य विश्वकृत हुन सक्दैन । सुगा रटानले नेपाली साहित्य यथास्थितिमा रहिरहने भो । अब तिमी पनि बोल्न सिकाऊ, म पनि सिकाउँछु, उसले पनि सिकाउँछ, यसरी सबैले बोल्न सिकाएपछि विविधता हुन्छ र सुन्नेलाई पनि चाख लाग्छ । यो एउटा सांस्कृतिक पुँजी निर्माण गर्नु पनि हो । यसलाई अनुत्पादक भनेर कम आँक्न कहाँ मिल्छ र !

तङ्सिङ भनेको सांस्कृतिक अनुष्ठान हो, तर तपाईहरुले कवितासँग किन जोड्नुभयो ?
तङ्सिङ अनुष्ठान गर्दा येबा, साम्बाले मुन्धुम फलाक्छ । वास्तवमा कविहरू पनि येबा, साम्बा नै हुन् । उनीहरू कवितामार्फत् इतिहास, सभ्यता, संस्कृति, सामाजिक न्यायजस्ता अनेकौं विषय फलाकिरहेका हुन्छन् । यस कार्यक्रममा सहभागी हुने कविहरूका कवितामा याक्थुङ (लिम्बू) समाजभित्रका कुराहरू नै ज्यादा आउने भएकाले यसलाई कविता तङ्सिङ भन्दा अनुपयुक्त नहोला ।
प्रस्तुतिः सन्देश सुब्बा