वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र–१ स्थित तीर्थनगरी बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षमा करिब ७ करोड रुपैयाँ बचत सङ्कलन गरेको छ ।
शुक्रबार सम्पन्न छैटौँ साधारसभा र स्थापना दिवसमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्द मगरले ६ करोड ८१ लख ७७ हजार २ सय ७८ रुपैयाँ बराबर निक्षेप सङ्कलन गरिएको बताए । आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७१ लाख ३९ हजार ७ सय २६ रुपैयाँ बचत गरेको छ । यो विगतभन्दा ३९ दशमलव ८० प्रतिशतले बढेको हो ।
सहकारीले चालु वर्षमा १ करोड ५७ लाख ३८ हजार ९ सय रुपैयाँ बचत गर्दै ४ करोड १० लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले बिना धितो व्यक्तिगत र सामूहिक कर्जा २ लाख रुपैयाँ प्रवाह गर्दै आएको छ भने धितो कर्जा १० लाख रुपैयाँ कर्जा लगानी गर्ने गरेको छ ।
उता आर्थिक वर्षको २० लाख ९९ हजार ३ सय रुपैयाँ वृद्धि गरी संस्थाको शेयर पुँजी ६५ लाख ४१ हजार रुपैयाँ रहेको अध्यक्ष मगरले बताए ।
शेयर सदस्यहरूलाई बचत मात्र नभएर स्वरोजगारमा प्रेरित गर्न संस्थालाई आउने समयमा बहुउद्देश्यीय सहकारी बनाउन छलफल भइरहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका उपप्रमुख नन्दकुमारी राई र अध्यक्षले सामाजिक व्यक्तित्व र साहित्यकार प्रह्लाद पहरेदार भट्टराईलाई सम्मान–पत्रले सम्मानित गरिएको छ ।
कार्यक्रममा वराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापा, सदस्यहरू चुनु श्रेष्ठ, कुमार भट्टराई, ज्येष्ठ शेयर सदस्य भरतकुमार राउत, बालकुमारी भुजेल, उत्कृष्ठ निक्षेपकर्ता कल्पना राई, भुलमाया गुरुङ र उमादेवी खड्का, उत्कृष्ठ कर्जा कारोबारतर्फ हर्कमया खत्री र दिलिप भगत, नवीन सृजना समूहलाई सम्मानित गरिएको छ ।
कार्यक्रममा सदस्य महेश बज्राचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७३ सालमा १ महिला र २७ पुरुषबाट १० लाख ८० हजार रुपैयाँ पुँजीबाट संस्था सुरु गरिएको थियो । हाल संस्थामा २७ वटा समूह छन् भने ६ सय ५ जना सदस्य रहेका छन् ।