धरान । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै आएको बेला नेपाल आयल निगमले पनि इन्धनको मूल्यमा कटौती गरेको छ ।

निगमले भारतबाट मूल्य घटेर आएको र इन्धनको उच्च मूल्यका कारण अर्थतन्त्र नै शिथिल बन्न थालेपछि मूल्य कटौती गरिएको जनाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०–१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको सो निर्णयसँगै अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १ सय ७५ रुपैयाँ प्रतिलिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र वाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १ सय ७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै याथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि सो अनुपातमा नेपालमा मूल्य समायोजन हुन नसकेको उपभोक्ताको गुनासो बढ्दै गएको बेला निगमले यस्तो निर्णय गरेको हो । निगमले पहिले नै स्वचालित मूल्य प्रणाली लागू गरेको छ । उक्त प्रणालीअनुसार भारतमा मूल्य घटबढ हुँदा सोहीअनुसार नेपालमा पनि हुने व्यवस्था छ ।