नेपाल सरकारले धरानको अम्बा स्टोरसहित १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

खरिद कार्यालयको सोमबार बसेको बैठकले मङ्गलबारदेखि लागू हुने गरी चारवटा कम्पनीलाई दुई–दुई वर्ष र अन्य कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो । जसमा धरानको अम्बा स्टोर रहेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखिएको हो । 

प्रदेश १ का अन्य तीन कम्पनी तथा व्यवसायीलाई पनि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । झापाको फ्रेण्ड्स अर्बिट कन्स्ट्रक्सन सर्भिसेज प्रालि कन्काई, हिमालय कन्स्ट्रक्सन प्रालि सङ्खुवासभा, सन्देश सौगात ट्रेड एण्ड सप्लायर्स विराटनगरलाई एक वर्षका लागि कालोसूचीमा राखेको जनाइएको छ । सम्झौताअनुसार लिएको ठेक्का पूरा नगरेको पाइएपछि चारवटा कम्पनीलाई दुई–दुई वर्ष कालोसूचीमा राखिएको छ । 

मङ्गलबारदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा तथा डिएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ, कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा शैलुङ इण्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुई–दुई वर्षका लागि कालोसूचीमा राखिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।