विराटनगर । छिटपुटबाहेक गर्मी छल्ने गरी बनाइएका होचा फुसका छाना भएका घर । घरको बारमा रुख, कतै सूर्य, कतै हँसिया–हथौडा, छाता तथा लालटिन, कलम अङ्कित झण्डा । कच्ची सडकमा धुलो उडाउँदै गुड्ने मोटर र टेम्पोमा पनि पार्टीका झण्डा । विराटनगर महानगरपालिका–१४ महतटोल पुग्दा अहिले चुनावको यस्तो चहल पहल देखिन्छ ।
गर्मीका कारण विराटनगरको दक्षिणीभेगको बस्तीमा उम्मेदवार त देखिएका छैनन्, तर यस बस्तीका मान्छेलाई भने गर्मीले छेकेको छैन । महत बस्ती भनेर चिनिने यहाँ १ सयदेखि १ सय ५० घरपरिवार सुकुम्बासीको बसोबास रहेको छ । बस्तीको बीचका ६७ वर्षीय सौदागर महतो घरको खाटमा बसेका भेटिए ।
‘गाउँमा चुनाव आएछ, तपाईंहरूलार्ई चुनाव कत्तिको लागेको छ ?’ जिज्ञासा नसकिँदै उनले भने, ‘विकास गर्ने होइनन्, जति भोट दिए पनि हाम्रा दुःख हामीसँगै हुने हुन्, भोट मात्रै लिन्छन्, काम गर्ने होइनन् । नेताले झुट मात्र बोल्छन् ।’ यहाँका महत टोलमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीको एउटै माग रहेको छ; धनीपुर्जा ।
‘७ धुर जमिनमा घर बनाएको छु, तीन छोरा छन् । यहाँ बसेको वर्षौं भइसक्यो’ उनले भने, ‘चुनाव आयो नेताले सुकुम्बासी व्यवस्थापन गर्ने भनेर घोषणा–पत्रमा राखेका हुन्छन् । तर, त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । अहिले पनि प्रमुख दलहरूले चुनावी घोषणा–पत्रमा सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्नेदेखि सुकुम्बासीको व्यवस्थापन गर्ने उल्लेख त छ तर, कार्यान्वयन गर्छन् भन्ने हामीलाई लागेको छैन ।’
यहाँका सुकुम्बासीलाई धनीपुर्जा दिने ग्यारेन्टी गर्ने र डुबानमुक्त वडा बनाउने दलका उम्मेदवारलाई भोट दिने महत टोलबासीको योजना रहेको उनले सुनाए ।
‘महत टोलको यो बाटो गत चुनावमा पनि यस्तै थियो, अहिले पनि उस्तै छ । अहिलेसम्म पिच हुन सकेको छैन । विराटनगरको उत्तरी क्षेत्रका प्रायः सबै वडाका सडक पिच भइसकेका छन् । विकासले पछि परेको दक्षिणी क्षेत्रको विराटनगर–१४ को त्यो पनि महतटोल होला’ ग्राभेल सडक देखाउँदै ७० वर्षीय जगनाथ महतोले भने, ‘सबै भोट माग्न आउँछन्, काम चाहिँ गर्दैनन् । उधारोमा भोट दिँदा हाम्रो बस्ती सधैँ पछि पर्यो ।’
यो त्यही संसदीय क्षेत्र हो, जहाँ माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले चुनाव लडेर जितेको क्षेत्र पनि हो । मोरङको क्षेत्र नं. ५ विराटनगर १४ नं. वडा पर्छ । ०७४ मा मण्डलले चुनाव जिते । प्रभावशाली नेताको चुनाव क्षेत्र भएर पनि गाउँको विकासमा त्यो प्रतिबिम्बित भएको देखिँदैन ।
‘प्रदेशको राजधानी रहेको सहर विराटनगरको दक्षिणीभेगको अहिलेलाई यो बाटो नै हाम्रो लाइफलाइन हो, बिरामी भए यहीँबाट एम्बुलेन्स गुडाउने हो । तर, अरू बेलै यो बाटो हिँड्दा सञ्चै मान्छे पनि बिरामी पर्ने अवस्था छ’ ६० वर्षीय पृथीलाल महतोले भने, ‘हामी जसले यो बाटो पिच गरिदिन्छ, उसैलाई भोट दिन्छौँ ।’
विराटनगर महानगरपालिकाको नेतृत्व गर्न अहिले सत्तारूढ गठबन्धन काङ्ग्रेसबाट नागेश कोइराला मेयर, उपप्रमुख जसपाबाट अमरेन्द्र यादव, एमालेबाट मेयर सागर थापा, उपमेयरबाट शिल्पा कार्की, मेयर पदका स्वतन्त्र उम्मेदवार उमेश यादव र नमिता न्यौपाने उठेकी छन् ।