पाँचथर । सडक पुल नभएका नदी तथा खोलामा बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउँदा यात्रुले सास्ती खेप्नुपरेको छ । जिल्लाका मुख्य सडकमा निर्माण गरिएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले बगाउने समस्या दोहोरिँदै आएको हो ।


पूर्वी पहाडलाई छोटो दूरीमार्फत तराईसँग जोड्ने तमोर कोरिडोरअन्तर्गत आठ वटा खोलामाथि पुल निर्माण भइरहेको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेँवा खोला तथा पाँचथर–धनकुटा सीमास्थित नावा खोलामा बाढीका कारण बारम्बार यातायात अवरुद्ध हुने गरेको छ । दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढीले पटकपटक क्षति पुर्‍याउँदै आएको छ । सामान्यभन्दा ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था सिर्जना हुने गरेको छ । दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलमार्फत वारपार गराइने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाटै गुड्ने गरेका छन् ।


तुम्बेवा गाउँपालिका–२ लखुवाका राजकुमार देवानका अनुसार अकस्मात् पानीको बहाव बढ्दा जोखिम थपिने गरेको छ । उनका अनुसार डाइभर्सन निर्माण गरिए पनि कहिले बाढीले बगाउने हो भन्ने निश्चितता हुँदैन । ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौँ सवारीसाधन तथा ढुवानीका साधन दैनिक रूपमा तमोर कोरिडोर सडक प्रयोग गर्दै आएका छन् । नावा खोलालगायत स्थानमा पुल निर्माणको काम भने अघि बढिरहेको छ ।


तमोर कोरिडोरअन्तर्गत पर्ने हेँवा खोलाको माझीटार क्षेत्रमा पनि बाढीले पटकपटक डाइभर्सन बगाउने गरेको छ । स्थानीयका अनुसार हेँवा खोलाको मुहान क्षेत्र ठूलो भएकाले वर्षायाममा निरन्तर बाढी आउने गर्छ । नियमित वर्षाका कारण गत चैतयता डाइभर्सन बारम्बार बग्दै आएको छ । हिलिहाङ गाउँपालिका–७ माझीटारका रामकुमार माझीका अनुसार अघिल्ला वर्षमा असारसम्म डाइभर्सन सञ्चालनमा रहने गरे पनि यस वर्ष चैतदेखि नै यातायात अवरुद्ध हुन थालेको छ ।


डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तमोर कोरिडोर हुँदै तराईतर्फ सञ्चालन हुने सवारीसाधनलाई मेची राजमार्गको फिदिम–शिवादोभान मार्ग प्रयोग गरी लामो दूरी घुम्नुपर्ने बाध्यता रहेको छ । हिलिहाङ गाउँपालिका–५ का वीरेन्द्र मंग्रातीका अनुसार तमोर कोरिडोर सडक आयोजना तथा निर्माण कम्पनीले नियमित मर्मत र व्यवस्थित संरचना निर्माणमा पर्याप्त चासो नदिँदा समस्या झन् जटिल बनेको छ । एकपटक बाढीले बगाएपछि लामो समयसम्म डाइभर्सन मर्मत नहुँदा छोटो दूरीको सडकको उपयोग हुन नसकेको र स्थानीयलाई सदरमुकाम पुग्नसमेत लामो दूरी पार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।


यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा निर्माण गरिएको डाइभर्सन पनि बाढीले पटकपटक बगाउँदै आएको छ । तीन वर्षअघि आएको बाढीले सडक पुल बगाएपछि डाइभर्सनमार्फत सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको थियो । तर, यस वर्ष जेठ ८ गतेको अविरल वर्षापछि आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार सडक लामो समय अवरुद्ध हुन नदिन पानीको बहाव घटेका बेला डाइभर्सन निर्माण गरिएको छ । खोलाभन्दा माथिल्लो क्षेत्रमा समेत ठूलो जनसंख्या बसोबास गर्ने भएकाले खोला घट्नासाथ डाइभर्सन बनाइए पनि बाढीले पटकपटक क्षति पुर्‍याउने गरेको उनले बताए ।


निर्माणाधीन सडक पुल यस वर्ष बाढीले बगाएपछि नयाँ पुल कहिले निर्माण सम्पन्न हुने भन्ने चिन्ता स्थानीयवासीमा बढेको छ । याङवरक गाउँपालिका–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार वर्षायाम सुरु नहुँदै बाढीपहिरोको जोखिम बढेको तथा खोला तर्नसमेत कठिन अवस्था सिर्जना भएकाले स्थानीयमा चिन्ता थपिएको छ ।


यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध भएका सडक नियमित सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ । समितिले सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय तथा निर्माण व्यवसायीलाई आवश्यक समन्वय र पहल गर्न आग्रह गर्ने निर्णय गरेको जनाएको छ । रासस