काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्न लागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।


केही सञ्चारमाध्यममा शनिबार र आइतबार दिइँदै आएको दुईदिने सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाउने तयारी भइरहेको समाचार प्रकाशित भएपछि सरकारले त्यसको खण्डन गरेको हो ।


प्रधानमन्त्रीका प्रेस तथा सूचना विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको बताइन् । “यस सम्बन्धमा हालसम्म कुनै निर्णय भएको छैन, न त तत्काल त्यस्तो कुनै तयारी नै छ,” उनले भनिन् ।


यसअघि पश्चिम एसियामा उत्पन्न समस्याका कारण इन्धनको मूल्य निरन्तर बढ्दै गएपछि जनजीवनमा सहजता ल्याउने उद्देश्यले मन्त्रिपरिषद्को चैत २२ गतेको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।


सरकारले आइतबारको बिदा यथावत् रहेको स्पष्ट पार्दै यसबारे फैलिएका भ्रमपूर्ण समाचारप्रति सचेत रहन आग्रह गरेको छ । रासस