काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आज (शुक्रबार) देखि सुरु भएको छ । करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलोपटक तीन राष्ट्र—मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन् ।
मेक्सिको सिटीमा हुने उद्घाटन खेलसँगै सुरु हुने विश्वकप जुलाई १९ मा न्यु जर्सीमा हुने फाइनलसँगै सम्पन्न हुनेछ । यस संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा हेरिएको छ किनभने पहिलोपटक ४८ राष्ट्र सहभागी भएका छन् ।
नयाँ फम्र्याट, थप रोमाञ्च
विश्वकपमा सहभागी टोलीहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याइएपछि प्रतियोगिताको संरचनामा पनि परिवर्तन गरिएको छ । टोलीहरूलाई चार–चार राष्ट्रका १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोली अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।
समूह चरणपछि नकआउट प्रणाली लागू हुनेछ र त्यसपछि प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा खेलिनेछ ।
यसपटक उपाधिको प्रमुख दाबेदारका रूपमा फ्रान्स राष्ट्रिय फुटबल टोली र स्पेन राष्ट्रिय फुटबल टोलीलाई हेरिएको छ । किलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्स लगातार तेस्रो विश्वकप फाइनल यात्राको लक्ष्यमा छ भने युवा स्टार लामिन यामलमाथि स्पेनको ठूलो भरोसा छ ।
यस्तै इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोली, ब्राजिल राष्ट्रिय फुटबल टोली र साविक विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोली पनि बलिया प्रतिस्पर्धी मानिएका छन् । पाँच पटकको विश्वविजेता ब्राजिल २४ वर्षपछि पुनः विश्वकप जित्ने लक्ष्यमा मैदान उत्रिनेछ ।
मेसी र रोनाल्डोमाथि विशेष नजर
विश्व फुटबलका दुई महान् खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोमाथि यसपटक पनि विश्वभरका समर्थकको विशेष नजर रहनेछ ।
दुई दशकभन्दा बढी समय विश्व फुटबलमा प्रभुत्व जमाएका यी दुई खेलाडीका लागि यो अन्तिम विश्वकप हुनसक्ने अनुमान गरिएको छ । त्यसैले उनीहरूको प्रदर्शन विश्वकपकै प्रमुख आकर्षणमध्ये एक रहनेछ ।
विश्वकपमा नयाँ अनुहार
प्रतियोगिताको विस्तारित स्वरूपसँगै केही राष्ट्रहरूले पहिलोपटक विश्वकपमा स्थान बनाएका छन् । कुरासाओ, केप भर्डे, जोर्डन र उज्बेकिस्तानले पहिलोपटक फुटबलको सबैभन्दा ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । विशेषगरी करिब एक लाख ५६ हजार जनसङ्ख्या भएको कुरासाओ विश्वकपमा छनोट हुने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको छ ।
समूह चरणमै केही खेलहरू विशेष चासोका केन्द्र बन्ने अपेक्षा गरिएको छ । फ्रान्स–सेनेगल, घाना–इङ्ल्यान्ड तथा इरान–इजिप्टबीचका खेलहरू फुटबलसँगै इतिहास, राजनीति र सामाजिक सन्दर्भका कारण पनि चर्चामा रहने अनुमान गरिएको छ ।
विश्वको नजर उत्तर अमेरिकातर्फ
४८ राष्ट्र, नयाँ फम्र्याट, नयाँ अनुहार र मेसी–रोनाल्डोजस्ता महान् खेलाडीको सम्भावित अन्तिम विश्वकपका कारण यसपटकको संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक संस्करणका रूपमा हेरिएको छ । आगामी एक महिनाभन्दा बढी समय विश्व फुटबलप्रेमीहरूको नजर उत्तर अमेरिकाका रङ्गशालाहरूमा केन्द्रित रहनेछ ।
नेपाली समयअनुसार समूह ए बाट जेठ २९ गते मध्यराति १२ः४५ बजे मेसिक्को र दक्षिण अफ्रिका खेलेका छन् । यस्तै आज (शुक्रबार) बिहान ७ः४५ मा दक्षिण कोरिया र चेक रिपब्लिकको प्रतिस्पर्धा भएको छ ।
यस्तै समूह बी बाट जेठ ३० गते मध्यराति १२ः४५ बजे क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाको प्रतिस्पर्धा हुनेछ । जेठ ३१ मध्यराति कतार र स्वीट्जरल्याण्डबीच हुनेछ । यस्तै समूह सी बाट जेठ ३१ गते बिहान ३ः४५ बजे ब्राजिल र मोरोक्को तथा बिहान ६ः४५ बजे हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । नकआउट चरण भने आगामी असार १५ गतेदेखि सुरु हुनेछ ।