तेह्रथुम/ गत साउनमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जिविकोपार्जन गर्दै आएका तमोर किनारका माझीहरु बिचल्लीमा परेका छन् । तेह्रथुम र ताप्लेजुङको सिमामा रहेको तमोद नदीमा आएको बाढीले नदीमा रहेका धेरै माछा बगाएपछि माझीहरुको रोजीरोटी नै खोसिएको छ ।
तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाट लगायत तमोर किनारमा रहेका माझीहरु परम्परागत पेशाबाट विस्थापित भएका हुन् । तमोर किनारका यी बस्तीहरुमा करिब डेढ सय परिवार माझीहरुको बसोबास रहेको छ । तमोरमा आएको बाढीले ढुंगा, मुढा, रुख, बुटासँगै माछा मारेर गुजारा चलाउने आफुहरुको रोजीरोटी पनि सँगै बगाएको आठराई गाउँपालिका छातेढुंगा माझीगाउँका शिवनारायण माझीले बताए ।
बाढीले खोलामा रहेका धेरै माछा मार्यो र बगायो, उहाँले भन्नुभयो–त्यसपछि हामीले दिनभरि खोलामै बिताउँदा पनि एक के.जी. माछा समेत पाउन छाड्यौँ, कमाई पनि ठप्प भयो । माछा मार्ने काम ठप्प भएपछि माझी युवाहरु जाल, थकौली र बल्छी थन्क्याएर रोजगारीका लागि अरु पेशा खोज्न थालेका छन् । काम गर्न सक्ने युवाहरुले घर छाडेपछि गाउँमा भने केटाकेटी र बुढाबुढीहरु मात्र रहेको पाँचथरको स्याबरुम्बा–९, लुमुघाटकी दिलकुमारी माझीले बताईन ।
तमोर किनारको बास छ, खेती गरौँ जग्गा जमीन छैन, दिलकुमारीले भनिन–दुइ छाक टार्ने माछा पनि बाढीले बगाएपछि माझीहरुको बिचल्ली भयो, जसोतसो जिउनै पर्यो, त्यसैले केटाठिटा सबै कमाउन घरबाहिर गएका छन् । माझीहरूका अनुसार, २०३५ सालमा तमोरमा आएको यस्तै बाढीले सबै माछा बगाउँदा तीन वर्षसम्म माछा भेटिएनन् । त्यसैले यसपटक पनि माछाका लागि तीन वर्ष जति कुर्नुपर्ने उनीहरुको भनाइ छ । त्यसो त यी माझीलाई बाढीले मात्र होइन, झोलुङ्गे पुल र बाटोले पनि बेरोजगार बनाएको छ । तमोरमा डुंगा चलाई गुजारा गर्ने माझीका लागि नक्कले, सिम्रा, पिनासी, माझीटार र लुमुसहित अधिकांश घाटमा पुल बनेपछि चिन्ता थपिएको माझीटारका जसबहादुर माझीले बताए ।
नाउँ चल्ने घाटहरुमा पुल, नदी किनारासम्मै मोटरबाटो समेत पुग्न थालेपछि गढतीरमा माछा मार्न जो–कोही पुग्ने गरेका छन् । यसले पनि माझीको पुख्र्यौली पेशा जोखिममा परेको छ । आफ्नै खेतीपाती गर्ने जग्गा जमीन छैन, जसबहादुरले भने–पुल बनेपछि नाउ थन्क्यायौं, नदीमा आएको बाढीले माछा पनि लगिदियो, खै अब के गरिखाने हो ? यहाँका माझीहरु मध्ये अधिकांशको व्यवसाय माछा मारेर विक्री गर्नु नै थियो । उनीहरुले मारेका माछा मध्ये केही ग्राहक घर–घरमा गएर खरिद गर्थे भने केहि माझीहरुले नजिकका बजारहरुमा विक्री गर्न ल्याउने गरेका थिए । तर यो वर्ष बाढीले माछा बगाएपछि माझीहरु फुर्सदिला बनेका छन् । विगत वर्ष दिनभरीमा पाँचदेखि सात किलोसम्म माछा मर्ने दोभानमा बाढी पश्चात एक किलो पनि पर्न छोडेपछि विभिन्न घाटमा वस्ने माझीहरुले माछा मार्ने काम छाडेको जसबहादुरले बताए ।
परम्परागत रुपमा नाउ तार्ने र माछा मार्ने पेशा अंगाल्ने माझीहरुका दुई वटै पेशा विस्थापित हुदै गएपछि माझीहरुको अवस्था भने दयनीय बनेको छ । लोप हुने अवस्थामा पुगेका माझीहरुलाई पनि राज्यले उचित शिक्षादिक्षा र आय आर्जनका कार्यक्रम दिनु पर्ने माझी समुदायको भनाई छ ।