विजयपुर । नेपाल बसोबास बस्ती संरक्षण समाजले विभिन्न स्थानमा भइरहेको बस्ती हटाउने तथा डोजर आतंकप्रति आपत्ति जनाउँदै ‘बस्ती बचाउ आन्दोलन’ को घोषणा गरेको छ ।
बुधबार समाजले जारी गरेको विज्ञप्तिमा चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरेको छ । समाजका अध्यक्ष कुमार कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार पहिलो चरणमा आ–आफ्नो क्षेत्रमा भेला, प्रदर्शन, दलहरूसँग अन्तरक्रिया, ज्ञापनपत्र बुझाउनेलगायत अवस्था अनुसारका कार्यक्रम सञ्चालन गरिनेछ । समाजले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराउने, सुकुम्बासी सम्बन्धी काम गर्ने स्थानीय तथा राष्ट्रिय संघ–संस्थासँग सहकार्य गरी साझा कार्यदल र कार्यक्रम बनाउने जनाएको छ । यस्तै, जबर्जस्ती उठिवास रोक्न शान्तिपूर्ण प्रतिकार गर्दै बस्ती रक्षा रणनीति अपनाउने, निष्पक्ष छानबिन र संवादमा सहयोग गर्ने तर विकल्पविहीन दमनकारी उठिवासविरुद्ध सशक्त प्रतिकार गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै समुदायस्तरमा जागरण अभियान सञ्चालन गरिने पनि जनाइएको छ ।
पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गर्दै सुकुम्बासी मुक्तिको अन्तिम आन्दोलनसमेत घोषणा गरिने समाजले जनाएको छ । काठमाडौँ उपत्यकाबाट क्रूर तथा अमानवीय शैलीमा सुकुम्बासीका घरमा डोजर चलाइएको उल्लेख गर्दै समाजले सरकारको योजनाअनुसार देशका विभिन्न स्थानमा स्थानीय तहमार्फत सूचना जारी गरेकाले स्पष्ट हुने जनाएको छ ।
देशका विभिन्न स्थानमा वर्षौंदेखि बसोबास गर्दै आएका विपन्न, श्रमिक, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । समाजले बस्ती व्यवस्थापनको नाममा नागरिकलाई जबर्जस्ती हटाउने कार्य मानवीय संवेदना र संविधानप्रदत्त आवास अधिकारविपरीत भएको जनाएको छ । प्रभावित परिवारका लागि सुरक्षित बसोबास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा आधारभूत सेवासहित पुनस्र्थापनाको स्पष्ट योजना सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ ।