विजयपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट प्रहरीले १४८ केजी गाँजासहित भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०७ पिसी ४७६५ को एम्बुलेन्सलाई शंकास्पद अवस्थामा रोकेको थियो । प्रहरीलाई देख्नासाथ एम्बुलेन्स भाग्न खोजेपछि टोलीले पिछा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले एम्बुलेन्समा प्लास्टिकको बोरामा राखिएको अवस्थामा लागुऔषध गाँजा १४८ केजी फेला पारेको जनाएको छ । एम्बुलेन्स चालक भारत, बिहार राज्य सुपोल जिल्ला बिरपुर बस्ने १८ वर्षीय धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्समा सवार २१ वर्षीय मो. सदामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाँजा र एम्बुलेन्ससहित दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।