विजयपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’ मार्फत एक करोड सात हजार रुपैयाँ सङ्कलन भएको छ ।

वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आय–व्यय सोमबार सार्वजनिक गरिएको हो । ज्ञानमहायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार सङ्कलित रकममध्ये २४ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ । खर्च मुख्यतः व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको छ ।

कुल रकममध्ये दाताले कबोल गरेको थप २१ लाख ७६ हजार रुपैयाँ उठ्न बाँकी रहेको संयोजक कोइरालाले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार मन्दिर निर्माणका लागि अनुमानित कुल लागत एक करोड ८३ लाख रुपैयाँ रहेको छ । हालसम्म करिब ४१ प्रतिशत रकम जुटेको छ । उनका अनुसार मन्दिर निर्माणका लागि सहयोग आउने क्रम अझै जारी छ । गाउँपालिका अध्यक्ष किरण राईले महायज्ञमार्फत प्राप्त सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्न विशेष ध्यान दिइएको बताउँदै दाताहरूले दिएको सहयोग रकम वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने व्यवस्था गरिएको बताए । “हामीले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेका छौँ, जसले दातामा विश्वास बढाउनेछ”, उनले भने ।

अध्यक्ष राईका अनुसार पञ्चकन्या देवीसँग जोडिएको धार्मिक आस्था, स्थानीय इतिहास र सांस्कृतिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माणको योजना अघि बढाइएको हो । भविष्यमा यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत लिइएको उनको भनाइ छ । निर्माण गरिने मन्दिर गजुरसहित करिब ३१ फिट अग्लो हुने छ । मन्दिरलाई परम्परागत पुरातात्विक शैलीमा निर्माण गरिनेछ भने छानो तामाको रहने छ । रासस