विजयपुर । इलामको प्रसिद्ध पर्यटकीय गन्तव्य अन्तुपोखरी चार दशकअघिसम्म भैँसी चराउने क्षेत्रका रूपमा परिचित थियो ।
वि.सं. २०४० सालसम्म अन्तुपोखरीमा आसपासका चार गाउँका स्थानीयले भैँसी चराउँथे । एकातिर पानीको आल थियो भने अरू ठाउँमा पानी सुके पनि यहाँको पोखरी कहिल्यै सुक्दैनथ्यो । वरिपरि घर थिएनन्, जङ्गल पनि थिएन । दिउँसै रात परेजस्तो सुनसान हुने यो ठाउँ अहिले भने मध्यरातसम्म उज्यालो र चहलपहलले भरिएको छ ।
स्थानीय खगराज घिमिरेका अनुसार बाल्यकालमा उनीहरूले २०–२२ वटा भैँसी चराउँथे । “अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत र छिरुवातिरका भैँसीलाई पानी खुवाउन यहीँ ल्याइन्थ्यो,” उनले भने, “दुई बजेपछि नै अन्धकारजस्तो हुन्थ्यो, मानिस हिँड्न डराउँथे ।”
त्यसबेला काशीनाथ घिमिरे, तारानिधि घिमिरे र तीलविक्रम नेम्वाङलगायत सीमित परिवार मात्र आसपासमा बसोबास गर्थे। सडक थिएन, गोरेटो बाटो मात्रै थियो । अहिले त्यही ठाउँ विश्वमै परिचित पर्यटकीय गन्तव्य बनेको छ ।
अन्तुपोखरीमा अहिले दैनिक आठ सयदेखि दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन् । डुङ्गा सयर, फिसिङ, क्याम्पफायर, नाचगान र स्थानीय परिकार अन्तुका मुख्य आकर्षण बनेका छन् । साँझ परेपछि स्पिकरको धुन बज्न थाल्छ र पर्यटक मध्यरातसम्म रमाइरहेका देखिन्छन् ।
चरन क्षेत्रबाट पर्यटकीय गन्तव्य बन्ने यात्रा २०४० सालतिर सुरु भएको स्थानीय बताउँछन् । त्यतिबेला कृष्णप्रसाद भट्टराई जिल्ला पञ्चायत सभापति थिए । जिल्ला पञ्चायतले २० हजार रुपैयाँ उपलब्ध गराएपछि पोखरी संरक्षण अभियान थालिएको थियो । “पोखरीको पूर्व र पश्चिमतर्फ पर्खाल लगाइयो, पानी जमाइयो र सरसफाइ गरियो,” खगराजले भने ।
वि.सं. २०५९ मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालयमा अन्तु पर्यटन विकास केन्द्र दर्ता भएपछि संरक्षण र पूर्वाधार विकासले थप गति लियो । २०६२/६३ सालतिर नेपाल सरकारले ५५ हजार र पछि एक लाख ७० हजार रुपैयाँ बजेट उपलब्ध गराएको थियो । स्थानीयले पर्यटकीय विकासका लागि भारतको मिरिकबाट सुरुमा भाडामा डुङ्गा ल्याए । पछि कोलकाताबाट दुईवटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याइयो । तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले २०६२/६३ सालतिर परेवा उडाएर पोखरीमा डुङ्गा सेवा उद्घाटन गरेका थिए ।
हाल डुङ्गा सेवा नगरपालिकामार्फत सञ्चालन भइरहेको छ । नगरपालिकाले अन्तुपोखरी र अन्तुडाँडाको पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब पाँच करोड रुपैयाँ खर्च गरिसकेको पूर्वप्रमुख रणबहादुर राई बताउँछन् । “हामी निर्वाचित भएर आउँदा पोखरी वरिपरि हिलाम्मे थियो, हिँड्नै सकिने अवस्था थिएन,” उनले भने, “ट्र्याक निर्माण, बत्ती जडान र पूर्वाधार विस्तारपछि अन्तु अहिले पर्यटकीय ‘हब’ बनेको छ।” पोखरीभन्दा माथि रहेको अन्तुडाँडा सूर्योदय अवलोकनका लागि प्रसिद्ध छ। अन्तुडाँडाबाट उत्तरतर्फका हिमशृङ्खला, हरियाली डाँडाकाँडा, अलैंची बगान, कन्याम, झापा, भारतको दार्जिलिङ, मिरिक र सिलिगुडीसम्मको दृश्यावलोकन गर्न सकिन्छ।
२०७४ सालअघि अन्तुडाँडासम्म सहज पहुँच थिएन। स्थानीय सरकार गठनपछि सडक विस्तार, सोलिङ तथा ग्राभेल गरी पर्यटकलाई सहज आवतजावतको व्यवस्था गरिएको राईले बताए। नगरपालिकाले पर्यटक व्यवस्थापन र राजस्व वृद्धि गर्न आफ्नै कर्मचारी राखेको छ। पहिले टिकट बिक्रीबाट वार्षिक करिब एक लाख रुपैयाँ आम्दानी हुने गरेकामा अहिले वार्षिक ५६ लाख रुपैयाँसम्म राजस्व संकलन हुने गरेको छ। हाल सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले अन्तु क्षेत्रमा ‘ब्युटिफिकेशन’, फुट ट्रायल, घेराबारा, सडक ढलान र विस्तारलगायत काम गरिरहेको छ।
अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेका अनुसार अहिले अन्तुमा होटल, कटेज र होमस्टे गरी ११० वटा व्यवसाय सञ्चालनमा छन्। सामुदायिक होमस्टे ५० वटा र नियमित सेवा दिने ३५ वटा छन्। यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा ३१० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
अन्तुपोखरीमा हाल चारवटा डुङ्गा सञ्चालनमा छन्। एक डुङ्गामा चार जना बस्न मिल्छ। पोखरी परिक्रमा गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ, जसबाट हुने आम्दानी नगरपालिकाको खातामा जान्छ।
अन्तु घुम्न आउने अधिकांश पर्यटकको कार्यतालिका अघिल्लो दिन अन्तुपोखरी घुमघाम, राति रमाइलो र भोलिपल्ट बिहान अन्तुडाँडाबाट सूर्योदय अवलोकन गर्ने हुन्छ। मेची राजमार्गअन्तर्गत कन्यामको छिपिटारबाट करिब ११ किलोमिटर दूरीमा अन्तुपोखरी पर्छ। सडक कालोपत्रे भएकाले जिप, कार, भ्यान तथा मोटरसाइकलमार्फत सहजै पुग्न सकिन्छ। भदौ अन्तिमदेखि सुरु हुने अन्तुको सूर्योदय अवलोकनको सिजन मौसम अनुकूल भए पुस–माघ हुँदै वैशाखसम्म चल्ने गर्छ। झापा, मोरङ, सुनसरी, सप्तरीजस्ता गर्मी हुने जिल्लाबाट आउने पर्यटकका लागि अन्तु प्राकृतिक ‘एयर कन्डिसन’जस्तै बनेको छ।
भारतको पश्चिम बङ्गालका सयौँ पर्यटक वर्षेनी अन्तु पुग्ने गर्छन्। कतिपय विद्यालयका विद्यार्थी समूह पनि अध्ययन भ्रमणमा आउने गरेका छन्। कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार सूर्योदय नगरपालिकाले पर्यटनलाई नै आर्थिक समृद्धिको आधार मानेर अघि बढिरहेको छ। “अन्तु र कन्याम मात्र होइन, नगरपालिकाका हरेक वडा र गाउँ पर्यटकीय सम्भावना बोकेका छन्,” उनले भने, “कृषि, जडीबुटी, रेडपाण्डा, धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर पर्यटन प्रवद्र्धन गरिरहेका छौँ।” कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरिसकेको छ। अन्तु र कन्याम यहाँका प्रमुख गन्तव्य हुन् । —रासस