विजयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले नेपाल–भारतबीचको सीमा विवाद बहुपक्षीय छलफलमार्फत समाधान गर्नुपर्ने बताएका छन् ।

मंगलबार सरकारको नाममा खुला पत्र लेख्दै सांसद राईले नेपालको भूभाग लिपुलेक क्षेत्रमा भारतले सडक तथा नाका सञ्चालनको चरणसम्म पु¥याउँदा सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका छन् ।

राईले सीमा विवादलाई कूटनीतिक नोटमा मात्र सीमित नगरी नेपाल, भारत, चीन र संयुक्त राष्ट्रसंघबीच बहुपक्षीय वार्ता गर्नुपर्ने माग गरेका छन् । पत्रमा उनले लेखेका छन्, “नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो खोलिरहँदा सरकार के गरिरहेको छ ? दार्चुलाको दुम्लिङसम्म बाटो पु¥याउन नसक्ने तर सीमावर्ती महाकाली क्षेत्र मिचिँदा रोक्न नसक्ने अवस्था किन आयो ? अब सो बाटो सम्पन्न गरेर नाका सञ्चालनको चरणमा पुगिसकेको बेला एउटा कूटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै हुन्छ? हुँदैन । सो विषयलाई संवादमा ल्याउन वार्ता टोली बनाएर वार्ता शुरु गर्नु पर्दैन? चीन, भारत, नेपाल र यूएनलाई राखेर चारै पक्षबीच वार्ता गरेर सीमा जोगाउन तिर लाग्नु ।” उनले यस विषयमा वार्ता टोली गठन गरी तत्काल संवाद प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

सांसद राईले नेपाली सेनालाई सीमा सुरक्षामा प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने मागसमेत गरेका छन् । उनले पत्रमा “सेनालाई सीमामा खटाउनु । मन्त्रीको गाडीको ढोका खोल्ने वा व्यक्तिगत सुरक्षामा मात्र सीमित राख्ने होइन, सीमा रक्षकका रूपमा परिचालन गर्नुपर्छ । सुकुम्बासी बस्ती भत्काउन होइन, सीमामा पठाउनू । सीमामा सेना कमजोर हुँदा अतिक्रमण बढेको छ ।” उल्लेख गरेका छन् । ।

खुला पत्रमा राईले सुकुम्बासी बस्ती हटाउन प्रयोग गरिएका डोजर तथा स्रोतसाधनलाई बाढी, पहिरो र विपद् प्रभावित क्षेत्रमा परिचालन गर्न सुझाव दिएका छन् । त्यस्तै, विदेशी ऋण बढाएर देशको अर्थतन्त्र संकटमा पारिएको भन्दै उनले सरकारको आर्थिक नीति र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । बजेट निर्माणका क्रममा सबै दलका सांसदका निर्वाचन क्षेत्रका आवश्यकता र जनताका समस्यालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । राईले सरकार जवाफदेही बन्नुपर्ने माग गरेका छन् । उनले विभिन्न विषयमा पत्रकार सम्मेलनमार्फत जनतालाई जवाफ दिन आग्रह गरेका छन् ।