पाँचथर । सदरमुकाम फिदिममा आयोजना गरिँदै आएको साहित्य वाचन शृङ्खला नाम्धिङ्गो साँझको पाँचौं भागमा बिहीबार साँझ कवि जितेन मुस्कान र लीला अनमोलले रचना सुनाए ।

फिदिमस्थित तमोरभ्याली गेष्टहाउसको चुम्देन हलमा खचाखच भरिएका पाँचथरे साहित्यप्रेमीलाई कविद्वयले दर्जन बढी रचना सुनाएर मन्त्रमुग्ध बनाए । आयोजकले दुई चरणमा रचना सुनाउने प्रबन्ध मिलाएका थिए । पहिलो चरणमा केही रुवाइ र गजलहरू सुनाएर वाह ! पाएका कवि जितेन मुस्कानले दोस्रो चरणमा ‘च्यातिएको रक्तिम आकाश’, ‘शुक्रकीटको आतङ्क’ र ‘नअघाउने आँखाहरू’ शीर्षकको विद्रोही र प्रेमील कविता सुनाएर दर्शक–श्रोतालाई गम्भीर बनाए ।

सञ्चारकर्मीसमेत रहेकी कवि लीला अनमोलले दुवै चरणमा कविता सुनाए । कोमल भावनाले ओतप्रोत लीलाका कविताले उपस्थित कविताप्रेमीलाई मन्त्रमुग्ध बनाउन सफल भइन् । उनले ‘कान्छा ! सहर नजाऊ’, ‘प्रेमको सभ्यता’ र ‘वर्जित प्रेम’ जस्ता प्र्रेमील र सामाजिक न्यायको खोजी गरिएका कविता सुनाए । जितेन र लीलाका रचनाहरूमाथि याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगु र साहित्यकार प्रेम ओझाले बोलेका थिए ।

कार्यक्रममा न्यू वरदान सङ्गीतालय फिदिमका कलाकारहरुले गीत–सङ्गीत प्रस्तुत गरेर सुनमा सुगन्ध थपेका थिए । स्रष्टा र सिर्जनालाई समाजसँग जोड्ने उद्देश्यले उक्त साहित्यिक शृङ्खलालाई निरन्तरता दिँदै आएको आयोजक संस्था याक्थुङ मुन चइत चोक सयङ पाँचथरका अध्यक्ष मधुराज केरुङले बताए ।