आऊ छेउमा 

अम्लारी फुङका पातहरु ओछ्याएको छु

तिम्रा सुकोमल कुमारी तन वदन

बिजाउने छैनन् जङ्गली पत्करहरुले 

बुकी फूलको बिस्तरा बनाएको छु 


सेता कक्फेक्वा र राता थोक्फेक्वा फूलले 

सजाएको छु आदिम बिस्तरा 


आऊ छेउमा 

अब आदिम सम्भोग गरौं


हेर, मैले आज 

मैनाचरी र गोलसिमल चराको

प्वाँखले सिउरिएको रङ्गीन असाङ 

शिरमा सजाएर आएको छु 


तमोरको शिरदेखि पिपुधापसम्म 

तिमै्र लागि पटक–पटक धाएको छु   

..................................

तेत्लारा लाहादङ्ना र सोधुङ लेप्मुहाङकी  

पुल्पुलिएकी एक्ली सुन्दरी छोरी 

ए नियारा लिङ्पङ्हाङ्मा

तिमी मेरो फुङ्लामाए हौ


याग्राङ्सिङमा झर्के थालको तालमा

मसँगै फनफनी घुम्ने 

आदिम शिभाकेया येमा हौ

................................ 

आऊ, लगाउन देऊ काउकुती 

अतृप्त वैंशले उठेका अवयवहरुमा 


सुन, मैले आज 

सागरको गहिराइमा मोतीसँगै बस्ने 

कौडीको माला लगाएर आएको छु


कम्मरमा सिन्युकबाट ल्याएको 

घण्टीहरुको हेम्बारी लगाएको छु

ओयामदेखि नाल्बुसम्म

तिम्रै लागि कैयौं पटक धाएको छु 

...................................

नौ आदिम येवा र फेदाङ्माका एक्ली चेली

आठ सावायेत्हाङका पुल्पुलेकी चेली

ए नियारा लिङ्पङ्हाङ्मा 

आऊ एकपटक खेल खेलौं सम्भोगको 


गर, स्पर्श 

मैले आज 

तिमीलाई तृप्त बनाउन

चोरेर गैंडाको शक्ति

लगाएर पाइन् तिरको टुप्पामा 

अचुक निसानाबाज भएर आएको छु


तिमी मेरो फुङ्लामाए हौ 

त्यसैले त

पटक–पटक तेल्लोकदेखि सुरुङखिमसम्म धाएको छु ।

...............................

गुरूहरुका पनि गुरू सामेधुङ्मा येप्मेधुङ्मा 

विषाक्त मनहरुलाई पराजित बनाउने 

आदिम गुरू नियारा लिङ्पङ्हाङ्मा 


घरै छाउन पुग्ने 

तिम्रा बारीका कान्ला भित्तामा 

फैलिएका केशराशि झैं बाबियो   

देखाएर दौंतरीलाई खुत्रुक्कै बनाउने

ए नियारा 

आऊ समाहित गर तिमीभित्र भित्रसम्म 

नुहाइदेऊ तिम्रा यौवनका 

इम्बिरी रसहरुले

तिमीलाई भेट्न फावाखोलादेखि नुगोसम्म धाएको छु 

............................

चुम, पक्लुङ हान्ने मेरा बलिष्ठ वदनमा

 

आज मैले 

तिमीलाई भेट्न

मुरिङ्ला थेरिङ्ला डाँडाबाट 

भाङ्ग्रे सिस्नुले बनेको 

मेख्लामा सजिएर आएको छु


दुम्सीका काँडाले भरिएका  

अम्लारी पेत्तारी दुईतिर छड्के भिरेर आएको छु

सर्पका हाडसँगै रिट्ठा र प्वाँलोले बनेका मालाले

बेरिएर आएको छु


फुङ्लामाए नियारा 

तिमीलाई भेट्न

तापेथोकदेखि याम्फुदिनसम्म कैयौं यात्रा गरेको छु 

..............................

ए सुन्दरी नियारा लिङ्पङ्हाङ्मा

चिण्डोमा जाँड सुक्दा

काउलो, घुङ्ग्रिङ र अम्लिसो ओइलिँदा

बजारेर कुर्कुच्चा  

पानी निकाल्ने तिमी 


लु छिटो आऊ अनि बेर 

तिम्रा शाक्तिशाली तर कोमल हातहरुले

र, एकसाथ सहस्र सम्भोग गरौं 

तिमीबाट शक्ति प्राप्त गर्न 

झरी वर्षा नभनी मुकुमलुङदेखि ओलाङ्चुङ गोलासम्म धाएको छु

आज मैले तिमीलाई 

खुसी बनाउन

भित्रांश फालेको 

डल्लै सुँगुरको कोसेली ल्याएको छु 

..................................................................

०७४ माघ १४ 

धरान, विजयपुरगढी

(यो कविता सिभाक यामी मुन्धुममा आधारित छ । येवाले आफूलाई शक्ति प्रदान गर्न आदिम प्रथम गुरू आदिम सामेधुङ्मा येप्मेधुङ्मा बनेकी नियारा लिङ्पङ्हाङ्मालाई पुकारेको मिथक कथा हो । नियारा लिङ्पङ्हाङ्मा तेत्लारा लाहादङ्ना र छुच्छुरु सहाम्फेवाकी एक्ली छोरी हुन् ।)