भण्टाबारी। बजार अनुगमन नहुँदा व्यापारीको मनपरी बढेको उपभोक्ताहरूले गुनासो गरेका छन् । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमा नै अनुगमन नहुँदा व्यापारीले मनपरी गर्दै आएको उनीहरूले गुनासो गरेका हुन् ।
जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबाट खटिने टोलीले कहिलेकाहीँ गर्ने अनुगमन देखाउनका लागि मात्र हुने गरेको इनरुवाका सरोज मेहता गुनासो गर्छन् । ‘बजारमा व्यापारीको मनपरी बढेको बारे ध्यानाकर्षण गराउँदा जनप्रतिनिधि र कर्मचारीले सक्रियताका साथ बजार अनुगमन भइरहेको दाबी गर्छन्’ उनले भने, ‘तर, सरकारी टोलीले बजारको मनपरी देखेको नदेख्यै गरिरहेका हुन्छन् । एउटै बजारमा रहेका पसलमै पनि उही तरकारीमा प्रतिकेजी ५–१० रुपैयाँसम्मको अन्तर हुन्छ ।’
उनले तौलमा पनि तलमाथि भइरहेको बताए । यसतर्फ सरकारी टोलीले अनुगमन गरेको पाइँदैन । इनरुवासहितका तरकारी बजारमा अहिले पनि ढुङ्गाले जोखेर सामान बेच्दा तौलमा तलमाथि हुने गरेको उनको बुझाइ छ । ‘किसानले उत्पादन गरेर ल्याउने तरकारी बिचौलियाले सस्तो दरमा खरिद गर्छन्’ अर्का उपभोक्ता अनिल साहले भने, ‘आफूखुसी दरभाउ तोक्छन् । यसरी दिनहुँजसो सयौं उपभोक्ता ठगिँदै आएका छन् ।’
स्थानीय तहका जनप्रतिनिधि र सरकारी अनुगमन टोलीले डिपार्टमेण्टल स्टोरहरूमा घुमेर अनुगमन गरेको ढोल पिट्ने काम मात्र भएको उनले गुनासो गरे । सरकारी निकायले सक्रिय भएर बजार अनुगमन गरेको बताइरहँदा जिल्लाका तरकारी बजारहरूमा व्यापारीको मनपरी बढेको हो ।
सरकारी टोलीले अनुगमनका नाममा केही पसलमा अनुगमन गर्दै आए पनि सरकारी टोलीलाई गिज्याउँदै तरकारी तथा खाद्य व्यापारीहरूले बजारमा मनपरी गर्दै आएका छन् । इनरुवा जिल्लाको ठूलो तरकारी बजारमध्येको एक हो । दिनभर इनरुवामा काम गर्ने र साँझ घर फर्किंदा तरकारी किनेर लैजाने उपभोक्ता ठगिँदै आएका छन् । तर, थोक र खुद्रामा सधैँ व्यस्त रहने इनरुवाको तरकारी बजारमा चाडपर्वका बेला मात्र अनुगमन गर्न सरकारी टोली पुग्ने गरेको छ ।
तरकारी बजारमा निश्चित मूल्य नभएका कारण मूल्यमा तलमाथि हुने गरेको तरकारी व्यापारी पवन मेहता बताउँछन् । तरकारीको मूल्य निर्धारण नहुँदा आम उपभोक्ता तौलदेखि मोलसम्म ठगिने गरेका छन् । ‘जब चाडपर्व आउँछन्, अनुगमन टोली पनि बजारमा जान्छ’ उपभोक्ता सरोजले भने, ‘उपभोक्ताको अधिक चाप हुने तरकारी बजारमा अरूबेला भने अनुगमन टोली पुग्दैन ।’
सहर बजारका सर्वसाधारणको पहुँच थोरै हुने क्षेत्रमा अनुगमन गरेर सरकारी टोलीले उपभोक्ता झुक्याउने काम मात्र गरेको उनको आरोप छ । ठूला डिपार्टमेण्टल स्टोरसँगै अनुगमन टोली तरकारी बजार प्रवेश गरिदिए सर्वसाधारणले राहत पाउने इनरुवाका उपभोक्ताहरुको भनाइ छ ।
अनुगमन नहुँदा बजारमा उपभोक्ता ठगिने गरेको गुनासो आफूकहाँ समेत आउने गरेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहसँग समन्वय गर्दै बजार अनुगमन थप प्रभावकारी बनाउन आफू लागेको दाबी गरे । उनले भने, ‘हामीले समय–समयमा बजार अनुगमन गर्दै आएका छौं तर, पनि कतिपय स्थानमा उपभोक्ता ठगिएका गुनासो आउने गर्छन् त्यस्ता मनपरि र कालोबजारी रोक्न नयाँ योजना ल्याउछौ ।’
उनले बजार अनुगमनलाई थप सक्रिय र प्रभावकारी बनाउने बताए । उपभोक्ता ठग्ने व्यापारीलाई कानूनी दायरा ल्याई कारबाही गर्ने उनको भनाइ छ ।