तिमी आयौ र हामी भयौँ
अरूभन्दा दामी भयौँ
अत्तरसरि फैल्याई प्रेम
एक–अर्कामा नामी भयौँ
भगवान्, म हैन आस्थाको धरोहर
त्यै पनि हामी शिव–पार्वती भयौँ
समागम तिम्रो र मेरो रहरको
अमूर्त मूर्तिको, मूर्तिकार भयौँ
ऋतु भयौँ, अस्तित्व भयौँ
हामी प्रश्नको उत्तर भयौँ
भँवरा र फूलबीच प्रीतजस्तो
कल्पना साकार भई मित भयौँ
क्षितिजमा थल र नभको मिलनसरि
दुई ध्रुव हामी एक ग्रह भयौँ
–डम्बर कार्की