तीजको चहलपहल शुरू भई सकेको थियो । बजारभरी महिलाहरू आफूलाई मन पर्ने साडी, गहना शृङ्गार लगायतका सामाग्रीहरू खरिद गर्नमा ब्यस्त थिए कोभिड -१९ कै कारण होला विगत वर्षमा जस्तो चहलपहल बजारमा देखिएको थिएन ।

सीतालाई बजारको रौनकले कुनै असर पारेको थिएन । मानौं उसलाई तीज नआइदिएको भए हुन्थ्यो भन्ने लागेको थियोे ।

स्टाफ बैठकमा समयमै पुग्नुपर्ने भएको कारण सीताले दायाँबायाँ हेर्दै नहेरी स्कूल पुगी सकेकी थिई । सीताको मोबाइलमा रिङ्ग बज्यो, साउन्ड बन्द गरी सीता मिटिङ्ग हलबाहिर गई । “आज ६ बजे बेलुकी हाम्रो घरमा दर खान आउनु है सीता, साथीहरू पनि आइपुग्छन्” भन्दै राधाको आवाज आयो । “होस् म त आउन सक्दिन होला” भन्ने सीताको प्रतिउत्तर थियो । होइन जसरी पनि आउनु पर्छ सबै साथीहरू भेट हुँदा पो मज्जा आउँछ, नाच्ने गाउने कार्यक्रमको भव्य तयारी गरिएको छ भन्दै राधाले धेरै आग्रह गरी फोन काटी । 

विगत वर्षहरूमा साथीहरूले आलो पालो गरी आ–आफ्नो घरमा दर खाने रमाइलो गर्ने समय निश्चित गरिसकेका थिए । यो वर्ष सबै साथीहरू राधाको घरमा जमघट हुने तयारीमा थिए । नाच्ने गाउने रहर हुँदाहुँदै पनि सीतालाई गौ हत्या गरे जस्तो भएको थियो ।

७ वर्षअगि सीताको दिनेशसँग विवाह भएको थियो । पति प्राइमरी स्कुल पढाउने शिक्षक थिए । छोरा ५ वर्ष र छोरी ३ वर्षकी थिई । योग्यताअनुसार तत्कालै भने जस्तो काम नपाइएकाले दिनेशले प्राइमरी स्कुलमा ज्वाइन भएको थियो । आम्दानीले कोठा भाडा तिर्न र घर ब्यवहार चलाउन पुगेकै थियो, नपुग थियो भने मात्र सीताको फर्माइस । बजार निस्केपछि देखे जति मन पर्ने सामानहरू किन्ने बानी थियो, महँगा लुगा साडी आदिको शौखिन थिई सीता ।

दिनमा एकदेखि दुई पटकसम्म आमाको फोन आउने गरेको हुँदा घरका सबै कुराहरू आमालाई सुनाउने गर्थी सीता । यहाँसम्म कि तरकारीमा नुन तेल कम बढी भएको खबर पनि आमालाई थाहा हुने गर्दथ्यो । एउटै छोरी भएको कारण खाद्यान्न लगायतका घरायसी सामान पनि माइतबाट आउने गर्दथ्यो, आवश्यकता पर्दा आमासँग पैसासमेत माग्ने गर्थी सीता ।

दिनेशलाई यस्ता अनावश्यक कुराहरू मन परिरहेको थिएन । यस्तै विषयलाई लिएर पतिपत्नीबीच झगडा परिरहन्थ्यो र अगि नै खबर माइत पुगिहाल्थ्यो । आमाले घरमा केही पर्दा सीतालाई तुरून्त बोलाई हाल्थी । माइत गएपछि दुई–तीनमहिना बस्ने बानी परिसकेको थियो । अत्यधिक खर्च गर्ने बानी परेकै कारण घर व्यवहार बिग्रन लागिसकेको थियो, बूढाबूढीमा झगडा पर्दा बच्चाहरूमा असर नपर्ने कुरै थिएन ।

पुस माघको समय थियो । चिसो अत्याधिक बढेको थियो सीतासँग स्वेटर ज्याकेट नभएको होइन र पनि सीता लङकोट किन्न तयार भइसकेकी थिई । सम्बन्ध झन् बिग्रन थाल्यो । पतिले स्वेटर ज्याकेट हुँदाहुँदै किन लङकोट चाहियो पछि किन्दा हुँदैन र भने पछि झगडा सुरु भएको थियो । आमाले खबर पाउने वित्तिकै सीतालाई माइत बोलाई हाली । “मागेको कुरा किन्न नसक्नेसँग किन सँगै बस्छस् छोड् दे उसलाई, कतिदिनसम्म चल्छ यस्तो” भन्दै चेप्न थाली तर दाजुभाइ चुप लागिबसेका थिए केही भन्न सकेका थिएनन् ।

भन्दा नभन्दै सम्बन्ध बिच्छेद गर्ने सम्मको कुरा भयो र आमाबाट नै कानूनी प्रक्रिया अगि बढ्यो । सीताले सम्बन्ध बिच्छेदको कागजमा आफ्नो एक पक्षीय हस्ताक्षर गरिसकेकी थिई अब हस्ताक्षर गर्न बाँकी थियो दिनेशको, जुन कागज दिनेशले प्राप्त गरिसकेको थियो ।

मन नलागी नलागी सीता जसोतसो दर खान राधाको घर जान तयार भई, दर त के होला एक छिन भए पनि मन बहलाउन गई । नाचगान सुरु भइसकेको थियो साथीहरू रङ्गीचङ्गी साडी लगाई गीतको तालमा नाचिरहेका थिए । न्याउरो अनुहार पारी सीता कोठामा प्रवेश गरी र एउटा खाली कुर्सीमा बसी । सीताको आँखाले साथीहरू कम्मर मर्काइ मर्काइ नाचेको हेरिरहेकी थिई । तर मन उनको वशमा थिएन । 

नाचगान सकिए पछि खानपिन सुरु भयो । खाँदाखाँदै राधाले भोलि व्रत बस्ने होलानी भनेर सीतालाई सोधी तर सीतासँग त्यसको कुनै प्रतिउत्तर थिएन । तीज भनेको पतिको लामो आयु र जन्मौजन्मसम्म त्यही व्यक्तिलाई पतिको रूपमा पाइने भन्ने कुरा बुझेकी सीताले व्रत बस्ने कि नबस्ने सम्बन्धमा दोधारमा परेकी थिई । सबैजनाले एक आपसमा तीजको शुभकामना दिई आ–आफ्नो फर्के सीता पनि लुरुलुरु आफ्ना डेरातर्फ गई ।

माइतमा आमासँग मात्र अलि राम्रो सम्बन्ध भए तापनि दाजुभाउजुसँगको सम्बन्ध चिसिन थालेपछि सीताले भिन्नै कोठा लिई बस्न थालेकी थिई । खर्च जुटाउन धौँ–धौँ परेपछि नजिकैको बोर्डिङ्ग स्कुलमा पढाउन थालेकी थिई राति घर पुग्दा नानीहरू निदाइसकेका थिए । सीता पनि पलङको एक छेउमा सुती र माथि घुमिरहेको पङ्खा हेरी रही । मनमा विभिन्न किसिमका तर्कनाहरू आए । व्रत बसौं कि नबसौं, बसौं भने केही दिनपछि पति आफ्नो हुँदैनन् र नबसौं भने अहिले सम्बन्ध बिच्छेद भएको छैन ।

बिहान ५ बजे आँखा खुल्यो सीता नुहाई धुवाई गरी पूजापाठ गरी चिया पकाएर खान बसी तर जसरी चियाको कप ओठ नजिक पुग्यो सीता झसङ्ग भई र कप टेबलमै राखी । खान मन लागेन दिनभरि यताउती गर्दै दिन बित्यो न भोक लाग्यो न प्यास नै । भनौं साक्षात् पार्वती नै आई सीताको शरीरमा वास गरेकी थिइन् । मनमा पिर र चिन्ता भएकै कारण सीताले केही खान सकेकी थिइनन् । अञ्जान मै तीजको ब्रत बसिरहेकी थिई सीता । 

बच्चाहरूलाई खाना खुवाई सीता बच्चाहरूसँगै सुत्न लागी, निद्रा लागेन, निद्रा हराइसकेको थियो जति बिर्सन चाहे पनि आँखा अगाडि पतिको झझल्को आइरह्यो । गल्ती के नै थियो दिनेशको । कहिलेकाहीँ कुनै शब्द पत्नीलाई बोले पनि सासु र ससुरालीप्रति कहिले अपशब्द बोलेको थिएन । पत्नी र छोराछारीहरूलाई माया गरेरै राखेको थियो । जति मिहिनेत गर्दा पनि समयले साथ नदिएर होला दिनेशले राम्रो जागिर पाउन सकेको थिएन र भनेजस्तो सीताको आवश्यकताहरू पूरा गर्न सकेको थिएन ।

एउटा मात्र छोरा भएको त्यो पनि विदेश रहेको कारण घरबेटीले दिनेशलाई सोझोपन र इमानदारिताको व्यवहारले छोरा सरह मानेका थिए । केही दिनअगि छोराको फोन आयो र त्यसपछि बाबुआमालाई आउने टिकट पठाएपछि घरबेटीले दिनेशलाई घरको र खेतीको जग्गा जमिन जिम्मा लगाएर ५ वर्षका लागि विदेश गए ।

रातको ११ बज्न लागेको थियो सीताको मनमा खैलाबैला मच्चिन थालेको थियो, न्याउरी मारी पछुतो भएको आभाष भइरहेको थियो । कहिले दिनेशलाई मायाले दुई शब्द राम्रो नबोल्ने सीतालाई आज दिनेश सम्झेर भक्कानिएर रुन मन लागेको थियो, साहैै्र ठूलो अपराधको बोध भएको थियो ।

अचानक हातमा रहेको मोबाइलको याद आयो एकपटक दिनेशलाई फोन गरूँ कि भन्ने सोच पलायो तर फोन गर्ने कसरी ? जो केही दिनमै सँधैका लागि टाढा हुँदैछ ।

मनले मानेन सीताले निकै आँट गरी दिनेशलाई फोन गरी एक रिङ्ग बज्ने वित्तिकै काटी दिई । कुरा गर्ने आँट आएन । केही समयपछि कलब्याक आउला कि भनि आश गरी तर आएन । फेरि दोस्रो प्रयास भयो, कल गयो तर टेलिकमले सेट गरेको महिलाको आवाजबाहेक केही आउन सकेन ।

रातभरि अनिँदो भयो जति सुत्न खोज्दा पनि निदाउन सकिन सीता रात छर्लङ्ग भई त्यसै बित्यो । बिहानतिर झपक्क आँखा लागेको थाहै पाइनन् सीताले । बिहानको ७ बज्न लागेको थियो घाम कोठाभित्र मजाले पसिसकेको थियो, छोराछोरीहरू खेलिरहेका थिए । छोरो आकाशले सुतिरहेकी सीतालाई कोट्याउँदै उठायो र भन्यो “ममी ममी बाबा आउनु भयो ।”

सीताको आँखा खुल्यो कुरो सुनेर छक्क परी केही बोल्न सकिरहेकी थिइन । हिम्मत गरेर “खोइ कता हुनुहुन्छ बाबा” भनी छोरा आकाशले बाहिर उभिरहनु भएको बाबालाई घर भित्रलिएर आयो । दुवैजनाले एक अर्कालाई एक छिनसम्म हेराहेर गरी रहे र अन्तरमनका आवाज सुन्ने कोशीस गरिरहेका थिए ।

“तिमीले पठाएको डिभोर्स पेपरमा मैले हस्ताक्षर गरेर ल्याई दिएको छु” भन्दै दिनेशले त्यो पेपर सीताको अगि बढायो जुन  पेपर देखेर सीताको टाउकोमाथि चट्याङ्ग नै परे जस्तो भयो । सीता केही सोच्न र बोल्न सकिरहेको थिइन । सीता एकछिनसम्म घोरिई र विस्तारै दिनेशको हातबाट आँखाभरि आँशु पार्दै डिभोर्स पेपर लिई र भक्कानिएर रुँदै त्यो पेपरलाई दिनेशकै अगाडि च्याती दिई र दिनेशलाई झ्याप्पै अङ्गालो हाली ।