सुनसरी । रासायनिक मल पाउन नसकेपछि सुनसरीका किसान आन्दोलित भएका छन् । गहुँ खेती लगाउने समय भए पनि मल नपाएपछि किसान आन्दोलित भएका हुन् ।

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत आफूहरूलाई रासायनिक मल समयमै उपलब्ध नगराएको भन्दै भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ३ फूलचौकस्थित पूर्व–पश्चिम राजमार्ग स्थानीय किसानहरूले शनिबार बिहान अवरुद्ध गरेका थिए ।

गहुँ छर्ने सिजन सुरु भए पनि रासायनिक मल नपाउँदा खेती लगाउन नपाएको बताउँदै भोक्राहा नरसिंह गाउँपालिकाका किसान इन्द्रदेव मेहताले स्थानीय जनप्रतिनिधिदेखि सम्बन्धित निकायलाई मल उपलब्ध गराउन गरेको ध्यानाकर्षणको सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलित हुनुपरेको जानकारी दिए ।

रासायनिक मलको अभाव भइरहेको बेला सहकारी संस्थाहरूको मनोमानी बढ्दै गएको उनीहरू बताउँछन् । रासायनिक मल र बिउ सहकारी संस्थाहरूमार्फत् बिक्रीवितरण हुने भएकाले उनीहरूको मनोमानी बढेको किसानले गुनासो गरेका छन् ।

मल र बिउ बिक्रीवितरणमा शेयर सदस्यलाई सहकारी संस्थाले प्राथमिकता दिई वास्तविक किसानलाई नदिने गरेको कोसी गाउँपालिका–१ लौकहीका किसान रञ्जित यादवले आरोप लगाए ।

कतिपय सहकारी संस्थाहरूले सदस्यहरूलाई दिने बहानामा एकै व्यक्तिलाई धेरै बोरा मल दिए पनि आफूहरू लिन जाँदा रित्तो हात फर्काउने गरेको उनको आरोप छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् बिक्रीवितरण गर्न जिम्मा पाएका सहकारी संस्थाहरूले वास्तविक किसानलाई मल दिन आनाकानी गर्दै आएको अर्का किसान लक्ष्मी साह  गुनासो गर्छन् ।

कोसी गाउँपालिका–१ लौकहीमा अवस्थित कमला माई सहकारी संस्थालगायतले मूल्यभन्दा बढी पैसा लिई सप्तरीतर्फ समेत मल पठाउने गरिएको त्यहाँका किसानहरूको आरोप छ । बजारमा मल अभावका कारण किसान भौंतारिरहेको अवस्थामा स्थानीय किसानको नाममा ल्याउने मल बढी पैसा लिई सप्तरीतर्फ सुनसरीका सहकारी संस्थाहरूले पठाउने गरेको स्थानीयको दाबी छ ।

आफ्नै वडामा आएको मल पाइएला भन्ने आशामा बसेका किसान लिन जाँदा सहकारी सञ्चालकहरूले छैन भनेर फर्काउने गरिएको किसान साहले  गुनासो गरे ।

खेती लगाउने समय आउँदासमेत मल नपाएपछि किसानहरू निराश भएका छन् । धान काटेदेखि गहुँ लगाउने समयसम्म सहकारीमा मल खोज्दा नभएको जवाफ पाउने गरेको किसान इन्द्रदेवले बताए । गहुँको बिउ र मल नपाएको किसानले गुनासो गरिरहेका बेला सहकारीको मनोमानीसमेत  बढेकाले आफूहरू आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

मल र बिउ नपाउँदा विगतमा भारतीय बजारबाट तस्करी गरी ल्याइएको मल र बिउबाट किसानले गहुँ छर्ने गरेपनि यसपटक भने भारतीय बजारमा समेत मल अभाव रहेकाले खेती गर्न समस्या भएको इन्द्रदेवले गुनासो गरे । समयमै बिउ पाएका कतिपय कृषकहरू धमाधम गहुँ छर्न व्यस्त रहे पनि कतिपय भने अझै पनि बिउ नपाएको गुनासो गरिरहेका छन् ।