सुनसरी । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि सुनसरीका राजनीतिक दलहरू गाउँ–गाउँ धाउन थालेका छन् । आफ्ना नेता कार्यकर्तासँग भेटघाट तथा प्रशिक्षण कार्यक्रम राख्दै जिल्लाका राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका हुन् ।
आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा गरेपछि यहाँका राजनीतिक दलहरूले गाउँकेन्द्रित कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । वडा–वडामा कार्यक्रम गर्दै मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतका राजनीतिक दलहरूले आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै अन्य दलका नेताकार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउन सक्रिय भएका छन् ।
चुनावको मिति घोषणा भएसँगै विभिन्न दलका नेताकार्यकर्ता गाउँ पस्न थालेपछि विस्तारै चुनावी माहोल बन्दै गएको पाइन्छ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै टोल–टोलमा आफ्ना नेता कार्यकर्तालाई समेटेर चुनावी प्रचार–प्रसारलाई तीव्रता दिइएको नेपाली काङ्ग्रेस कोसी गाउँपालिकाका सभापति एवम् कोसी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमान मन्सुरीले जानकारी दिए ।
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै आफूहरूको व्यस्तता बढेको बताउँदै उनले पार्टीका नेता, कार्यकर्तालाई समेटेर प्रचार–प्रसार अभियानलाई अगाडि बढाइएको जानकारी दिए ।
फागुन ४ गते बसेको जिल्ला कमिटीको बैठकले गरेको निर्णयअनुसार जिल्लाका प्रत्येक स्थानीय तहका हरेक वडाका टोल–टोलमा सङ्गठन कमिटी निर्माण गर्ने कार्य भइरहेकोे नेकपा (एमाले) १ नम्बर प्रदेश कमिटी सदस्य अजय कुशियैतले बताए । नेकपा (एमाले)ले आफ्नो साङ्गठनिक संरचनालाई निरन्तरता दिँदै वडा कमिटीहरूको विस्तारित बैठक सम्पन्न गरेको बताउँदै उनले २० गतेसम्म टोल सङ्गठन कमिटी निर्माण गरिने बताए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले समेत प्रत्येक स्थानीय तहमा आफ्नो आन्तरिक सक्रियता बढाउँदै लगेको पाइएको छ । स्थानीय तहका हरेक वडामा आफ्ना नेता, कार्यकर्ता सङ्गठित बनाउँदै टोल कमिटी निर्माणको काम भइरहेको नेकपा (माओवादी केन्द्र) कोसी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले जानकारी दिए । पार्टीका नेता, कार्यकर्ताका साथै भातृसङ्गठनलाई समेत सक्रिय बनाइएको वाईसीएल कोसी गाउँपालिकाका अध्यक्ष बिहारी मुखिया भगतीले बताए ।
नेकपा (एमाले)ले जिल्ला अधिवेशन, जिल्ला कमिटी बैठक सकेर गाउँपालिका हुँदै वडा र टोलमा पुगेको बताउँदै प्रदेश कमिटी सदस्य कुशियैतले भने, ‘हामी अहिले गाउँ भेला, बैठक तथा सङ्गठन विस्तार अभियानमा जुटेका छौं, अहिले जितेका स्थानीय तहमा आफ्ना उम्मेदवारलाई पुनः जिताउने र पराजित भएका क्षेत्रमा कसरी आफ्ना उम्मेदवारलाई जिताउने भन्ने योजना बनाउँदै छौं ।’
हाल सुनसरीका जम्मा १२ वटा स्थानीय तहमध्ये नौ वटा स्थानीय तहमा काङ्ग्रेसबाट निर्वाचित प्रमुख छन् भने दुईवटामा नेकपा (एमाले) र एउटामा जनता समाजवादी पार्टीबाट निर्वाचित प्रमुख रहेका छन् । नेपाली काङ्ग्रेस पार्टीले जनताको घरदैलोमा पुगेर उनीहरूका अवस्था र आवश्यकता अनुसार विगतदेखि नै काम गर्दै आएको दाबी गर्दै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालिकाका अध्यक्षसमेत रहेका ऐयुब अन्सारी बताउँछन् ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस पार्टीले गरेको विकास निर्माण कार्यका बारेमा हरेक जनतालाई सूचना प्रवाह गर्ने उद्देश्यले आफूले निर्वाचित भएदेखि नै अध्यक्षसँग जनता कार्यक्रम अन्तर्गत जनताका घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्दै समाधान गर्दै आएको उनको दाबी छ । सुनसरी जिल्लामा सङ्घीय र प्रदेश नम्बर १ सरकारमा गठबन्धन गरेका दलहरूले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आ–आफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् ।
