धरान । अनलाइन सेक्युरिटिज प्रालिले शेयर बजारमा ‘सुरक्षित लगानी उपाय’बारे धरानका लगानीकर्ताहरूलाई प्रशिक्षित गराएको छ । 

प्रालिले सोमबार सामाजिक उत्तरदायित्वअन्तर्गत लगानीकर्ता शिक्षा कार्यक्रम गरेको हो । प्रालिका प्रमुख कार्यकारी अधिकृत विशालकुमार अग्रवालले शेयरमा लगानी गर्दा के के विषयमा जान्न आवश्यक छ भन्नेबारे जानकारी गराएका थिए । उनले कस्तो बेला शेयर मार्केट ‘बूल हुन्छ र कुन बेला ब्यारिस हुन्छ’ बारेमा कसैलाई पनि थाहा नहुने भएकाले लगानीकर्ताले आफूले लगानी गर्दा विशेष ध्यान दिन आवश्यक रहेको बताए । 

उनले आफूले लगानी गर्ने कुनै पनि सेक्टरमा त्यस सेक्टरको कम्पनीको आधारभूत अवस्था के छ र प्राविधिक पक्ष के छ भन्ने विषयमा जानकारी राख्न आग्रह गरे । नेपालमा प्रत्येक ५ वर्षमा मार्केट ब्यारिस र बुल हुने गरेको उनले बताए ।

धरानका लगानीकर्ताहरूलाई कम्पनीसहित शेयर मार्केटको बारेमा जानकारी दिनका लागि कार्यक्रम गरिएको प्रालिका धरान शाखा प्रमुख सुजन निरौलाले जानकारी दिए । धरान आरडब्लुएसको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । विगतमा काठमाडौँमा मात्र सीमित रहेको यस किसिम कार्यक्रम धरानमा पनि आयोजना हुँदा नयाँ कुरा सिक्न पाएको बिमल उदासले बताए ।