विजयपुर । सुनसरी–१ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले संवैधानिक प्रक्रिया मिचेर प्रधानन्यायाधीश नियुक्ति गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार राईले आपत्ति पत्र जारी गर्दै संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका हुन् । उनले यस्ता कार्यलाई कुनै पनि हालतमा सही मान्न नसकिने उल्लेख गरेका छन् । पत्रमा सरकारले वरिष्ठताको चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती भएको उल्लेख गरिएको छ । सुशासन र स्थिरताको आश्वासन दिएर आएको सरकारले विधि मिचेको आरोप राईले लगाएका छन् । बिहीबार संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई छोडेर चौथो नम्बरका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सांसद राईले विरोध गरेका हुन् ।
राईले आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुबी कुमारी ठाकुरप्रति पनि असन्तुष्टि जनाएका छन् । नियुक्तिसम्बन्धी बैठकका क्रममा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको तथा वरिष्ठताको क्रम उल्लंघन गरेर निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण भएको उनको भनाइ छ । “यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी सधैं विरोध गर्छ,” पत्रमा उल्लेख छ ।