इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।
जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४ सय ४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । ती परिवारलाई ५ सय ९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट एक करोड ८६ लाख ३१ हजार ४ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ ।
यसैगरी, ७ सय ३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताए । पालिकासँगको समन्वय र सहकार्यमा जिल्लाभर कुल २० हजार १ सय ७४ निवेदन सङ्कलन गरिएको थियो । भूमिहीन दलिततर्फ २ सय ४८, भूमिहीन सुकुमवासीतर्फ ८ सय ५७ र अव्यवस्थित बसोबासीतर्फ १८ हजार ९ सय १० निवेदन परेका थिए । तीमध्ये एक हजार ९ सय २६ निवेदन प्रमाणीकरण प्रक्रियामा छन् । रासस