धनकुटा । प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङको अखुवाटारमा आइतबारदेखि ३ दिने प्रथम गाँजा सचेतना मेला आयोजना गरिएको छ ।
प्रदेश नं. १ का भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका गाँजाप्रेमी अभियन्ताहरूको संयुक्त आयोजनामा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.२ छिन्ताङको अखुवाटारमा तीन दिने गाँजा मेला सञ्चालन भइरहेको छ ।
मेलामा नेपालका विभिन्न जिल्लाबाट आफू आबद्ध रहेका संस्थाहरूका गाँजा अभियन्ताहरू कार्यक्रमस्थल अखुवाटार पुगेर ऐक्यबद्धता जनाउँदै गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् ।
कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियन्ता संस्थाका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाको बिरुवामा पानी हालेर गरेका थिए । हाल संयुक्त राष्ट्रसङ्घले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागूऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि वैधानिकता दिनुपर्ने अभियन्ताहरूले माग गरेका छन् ।
विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा प्रतिकेजी ८ लाख र युरोपमा २५ लाखसम्म रहेकाले नेपालको लागि गाँजा प्रमुख आयस्रोत हुने अभियन्ताहरूको दाबी छ ।
गाँजाबाट सयांै किसिमका औषधि र मानव उपयोगी वस्तुहरू बनाउन प्रयोग हुने भएकाले यसलाई वैधानिकता दिएर किसानहरूको प्रमुख आयस्रोत बनाउनसके देश आर्थिक रूपमा समृद्ध हुने उनीहरूको भनाइ छ ।
कार्यक्रममा विश्व हिन्दु महासङ्घका अध्यक्ष ऋषिकेशजङ शाह, गाँजा वैधानिक अभियन्ता जोसेफ मदन कोइराला, सहिदभूमि गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राईलगायत स्थानीय कृषकहरूका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने मेलामा गाँजासम्बन्धी विभिन्न कपडाका स्टल तथा उत्पादन, सांस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरू गरिने आयोजक समितिका सदस्य–सचिव नरेन्द्र राई (कश्चित) ले जानकारी दिए ।
नेपाल सरकारले गाँजालाई लागूऔषधका रूपमा राखेकाले धनकुटाको छिन्ताङ क्षेत्रबाट मात्र हरेक वर्ष ३० जनाभन्दा बढी व्यक्तिहरू गाँजाको विषयमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तीर्थ राईले जानकारी दिएका छन् ।