बराहक्षेत्र  ५ मा नेपाली काङ्ग्रेसतर्फका वडाध्यक्ष पदका उम्मेदवार रोहित काफ्लेले बराहक्षेत्रका साहित्यकार तथा संचारकर्मीसग अन्तरक्रिया गरेका छन् । 

साहित्यकार सन्चारकर्मीका समस्या र जनप्रतिनिधिले सम्बोधन गर्ने विषयमा अन्तरक्रिया आयोजना गरिएको हो । स्थानीय सरकारले साहित्यकार संचारकर्मीहरुको वृत्ति विकासमा खेलेको भूमिका र निर्वाचित भएपछि सम्बोधन गर्नु पर्ने विषयका बारे उम्मेदवार काफ्लेले जानकारी र सुझाव लिएका हुन् । 

आफू निर्वाचित भएपछि कला साहित्य र संचारको विकास वडा तहबाटै गर्ने उम्मेदवार काफ्लेले सङ्कल्प गरे । उपस्थित संचारकर्मीले संचारको विकासका लागि बराहक्षेत्रमा नीतिनिर्माणको तह बलियो हुनुपर्ने विचार राखे ।

पत्रकार हिमाल राईले सन्चार ऐन निर्माण गरी पत्रकारको स्वास्थ्य बिमा, दुर्घटना बिमालगायत पेशागत सुरक्षाका लागि जोड दिइनु पर्ने धारणा राखे । कवि प्रकाश दिप्सालीले सन्चार र साहित्यको विकासलाई अनुत्पादक क्षेत्रका रुपमा नबुझ्न राजनीतिक दल, जनप्रतिनिधि र उम्मेदवारलाई आग्रह गरे । 

पत्रकार नवराज विष्टले बराहक्षेत्रमै आम सञ्चार र पत्रकारिताको अध्ययन गर्न सक्ने र अध्ययन गर्ने व्यक्तिलाई प्रोत्साहित गर्नु पर्ने बताए । उनले संचार प्रतिष्ठान गठन गरी स्थानीय संचार क्षेत्रलाई व्यवस्थित र विकसित गर्नु पर्ने बताए । 

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले समानुपातिक विज्ञापन प्रणालीलाई व्यवस्थित गरी स्थानीय सरकारले प्रदान गर्ने विज्ञापन स्थानीय संचार माध्यमलाई नै दिइनु पर्ने धारणा राखे । 

अन्तरक्रियामा ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्की, विराट टेलिभिजनका उपाध्यक्ष खगेन्द्र विमली, सदाबहार मिडियाका अर्जुन श्रेष्ठ, स्वर्णिम साहित्य समाजका पदाधिकारीसँगै स्थानीय सन्चारकर्मीहरुले धारणा राखेका थिए ।