विराटनगर । विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल र्याली निकालिएको छ ।
प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल र्याली, वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेको हो । विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको साइकल र्याली शनिमन्दिर, बिजुली अफिस, मुनालपथ, सोमबारेहाट हुँदै महानगरपालिका परिसरमा पुगेर समापन भएको थियो ।
साइकल र्यालीको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शुभारम्भ गरेका थिए । मुनालपथमा सरसफाइ गरिएको थियो भने विराटनगर वडा नम्बर २ को सोमबारे हाटमा वृक्षरोपण गरिएको थियो । सो अवसरमा प्रमुख कोइरालासहित उपप्रमुख शिल्पा निरौला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, विराटनगर वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेललगायतले वृक्षरोपण गरे ।
साइकल र्यालीको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा साइकल लेनको आवश्यक भए पनि स्थान अभाव रहेको बताए । हाल सञ्चालनमा रहेका सडकमा साइकल लेन बनाउँदा साँघुरो हुने बताउँदै उनले अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए । ‘सञ्चालनमा रहेका अहिलेका सबै सडक छुट्टै साइकल लेन बनाउनका लागि उपयुक्त छैनन्,’ कोइरालाले भने, ‘अन्य विकल्प खोज्नुपर्छ; मैले चुनावमा प्रतिबद्धता पनि जनाएको थिएँ; केसलिया र सिङ्घिया खोलामा तटबन्ध बनाउने । अब त्यहाँ बन्ने सडकमा साइकल लेन बनाउनुपर्छ ।’
कार्यक्रममा बुद्धिजीवी दिनेश श्रेष्ठले साइकलप्रति युवाहरूको आकर्षण बढ्दै गएको चर्चा गरे । स्वास्थ्य र वातावरणका लागि साइकल चलाउनु निकै नै उत्तम हुने उनको विचार थियो । सन् २०५० सम्ममा खनिज इन्धनमुक्त भविष्य भन्ने नाराका साथ साइकल ¥याली आयोजना गरिएको थियो । कार्यक्रममा दिगो विकासका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले साइकल लेन निर्माणलाई आगामी बजेटमा समेट्नुपर्नेमा जोड दिए । उनले साइकल प्रयोगलाई प्रोत्साहित गर्दा वातावरणमा सन्तुलन आई जलवायु परिवर्तनको असर कम हुँदै जाने दाबी गरे ।