धनकुटा । प्रदेश १ सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकास सरावागीले सहकारी संस्थामा वित्तीय अपचलन गर्ने जो कसैलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताएका छन् ।
मन्त्रालयले आइतबार धनकुटामा आयोजना गरेको सहकारी सङ्घसंस्था तथा सहकारी अभियानकर्मीहरूसँगको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सरावागीले यस्तो चेतावानी दिएका हुन् । मन्त्री सरावागीले आफू प्रदेश १ का १४ वटै जिल्लामा सहकारीको अवस्था अनुगमन गर्न जिल्ला दौडाहामा निस्किएको बताए ।
उनले जिल्ला दौडाहाको क्रममा सहकारीमा धेरै वित्तीय अपचलन भइरहेको जनगुनासो आएकाले आर्थिक हिनामिना गर्ने सहकारी सञ्चालकलाई कानूनी दायरामा ल्याउने बताए । उनले सहकारीको पैसा अपचलन गर्ने सञ्चालकलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्ने ठोकुवा गरे ।
मन्त्री सरावागीले आफू १४ जिल्लाको भ्रमण सकेपछि प्रदेश सरकारको तर्फबाट अनुगमन, निरीक्षण गरेर कानून वमोजिम नियमन गर्ने कार्यको तत्काल सुरुवात गर्ने बताए ।
मन्त्री सरावागीले भने, ‘सहकारीमा देखिएको समस्या सरकारको पनि समस्या र चुनौतीको विषय भएकाले वेथितिलाई नियन्त्रणमा लिन्छु ।’ उनले सहकारीको मर्म र भावाना विपरीत सहकारीको नाममा रकम सङ्कलन गरेर जो कोहीले हिनामिना गर्छ भने, त्यस्ता साहुकारी व्यवस्थापकलाई सरकारले कुनै पनि हालतमा नछोड्ने दाबी गरे ।
उनले भने, ‘सहकारीमा अपचलन गर्नेलाई प्रदेश सरकारको सहकारी रजिस्ट्रारको कार्यालयबाट प्रत्यक्ष अनुगमन, निगरानी गरेर कानूनी रूपमा नियमन गरिनेछ ।’
मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले सहकारीका अफ्ठ्यारा र चुनौतीबारे मन्त्रालयले जिल्ला जिल्लामा सुझाव सङ्कलन गर्ने अभियान चलाएको बताए । अन्तरक्रिया कार्यक्रममा सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मेघेन्द्र गुरुङले अहिले किसानहरूले आफ्नो बारीमा लगाएको बालीनालीमा लगाउने रासायनिक मलको हाहाकार भएकाले व्यवस्था मिलाई दिन मन्त्री सरावागीलाई आग्रह गरे ।
जिल्ला सहकारी सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले धनकुटा जिल्लामा ०७८ सालको असार मसन्तसम्ममा ३ सय ३७ वटा सहकारी सङ्घसंस्था दर्ता रहेको बताए ।