विराटनगर । नेपालको संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हकको ग्यारेन्टी गरिएको छ । संविधानको धारा ३५ (३) मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’ तर, अहिले पनि धेरै नेपालीले आर्थिक अवस्था कमजोर हुँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् ।

त्यसको एउटा उदाहरण हुन्; मोरङको धनपालधान गाउँपालिका–५ का ५५ वर्षीय प्रकाश चौधरी भनिने विमलाल सरदार । उनको टाउको र श्वास नलीको शल्यक्रिया गरेको पाँच महिना भयो । खुट्टा भाँचिएपछि चिकित्सकले शल्यक्रिया गरेपछि स्टिल लगाउन सुझाव दिएको छ । तर, पैसा अभावका कारण उनको पूर्ण रूपमा उपचार हुन सकेको छैन । विगत पाँच महिनादेखि उनी उपचार गर्ने पैसा नहुँदा विराटनगरस्थित विराट नर्सिङ होमको शय्यामा छटपटाई रहेका छन् ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रकाशको दायाँ खुट्टा भाँचिएपछि अस्पतालको जेनरल वार्डमा भर्ना भएका थिए । गत माघ २७ मा मोरङको उर्लाबारी नगरपालिका ८ दुर्गापुरीमा रोहित पुरीले चलाएको मे ८ प १४१७ नम्बरको मोटसाइकलले ठक्कर दिएपछि पैदलयात्री प्रकाश गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि उर्लाबारीको अरनिको अस्पताल लगियो ।

अरनिकोमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि विराट नर्सिङ होममा पठाइएको थियो । टाउकोमा रगत जमेपछि उनको विराट नर्सिङ होमका न्यूरो सर्जन डा. विवेक वैद्यको टिमले तत्काल शल्यक्रिया गरेको थियो । बेहोस भएका प्रकाशको राम्रोसँग होस नआएपछि घाँटीको श्वास नलीको पनि शल्यक्रिया गरेपछि होस आएको अस्पतालले जनाएको छ ।

‘न्यूरो आइसियू र एचडीसियू वार्डमा १–१ महिना राखेपछि अहिले जेनरल वार्डमा सारिएको छ,’ अस्पतालका अपरेशनल म्यानेजर महमद ज्याउल हकले भने, ‘दायाँ खुट्टा भाँचिएको हुनाले शल्यक्रिया गरिनुपर्ने अवस्था छ । शल्यक्रिया गरेपछि स्टिल पनि लगाउनुपर्ने हुन्छ । अहिले आर्थिक अभावको कारण शल्यक्रिया हुन सकेको छैन ।’

पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा प्रकाशको १५ लाख ४५ हजार रुपैयाँ बिल पुगेको छ । अहिलेसम्म उनले १ लाख १९ हजार रुपैयाँ अस्पताललाई बुझाएका छन् । दुर्घटना गराउने व्यक्ति रोहित पुरीको पनि आर्थिक अवस्था नाजुक रहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय सिजुवाले पुरीलाई नियन्त्रणमा लिएर ‘सवारी अङ्गभङ्ग मुद्दा’मा मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । उपचार खर्च तिर्न नसकेपछि पुरी अहिले पुर्पक्षका लागि थुनामा छन् । चालकले खर्च व्यहोर्न नसक्दा र  घाइते प्रकाशसँग उपचार गर्ने पैसा नहुँदा अस्पतालको शय्यामा छटपटिनु परेको हो ।

‘अहिले वैशाखीको साहारामा हिँड्डुल गर्नुपरेको छ । खुट्टाको दुःखाइले रातभरि सुत्न सक्दिन । आफूसँग भएको पैसा पनि सकियो ।’ अस्पतालको शøयामा रहेका प्रकाशले गहभरी आँसु झार्दै भने, ‘मनकारी व्यक्तिहरूलाई आफ्नो खुट्टाको अप्रेसनका लागि सहयोग गरिदिन आग्रह गर्दछु ।’

उपचारका लागि अस्पतालमा जम्मा गर्नुपर्ने रकम समेत नपुगेपछि समस्या भएको बताइएको छ । खुट्टाको शल्यक्रियाका लागि स्टिल किन्ने पैसा समेत उनको परिवारले तिर्न सकेको छैन । ‘अस्पतालले स्टिल किन्ने पैसा डिपोजिट गर्न भनेको छ,’ घाइते पतिको कुरुवा बसेकी पत्नी पार्वतीदेवी चौधरी भन्छिन्, ‘म निम्न आर्थिक अवस्थाको मान्छे, पतिको उपचारका लागि कसरी पैसा जोहो गर्ने ।’ स्टिल खरिद गर्ने पैसा भए अस्पतालले तत्काल शल्यक्रिया गरिदिने भनेको उनले सुनाइन् । ‘हामी सुकुम्बासी हौं । अर्काको घरमा बनिबुतो गरेर परिवारको गुजारा चलाउनु परेको छ,’ उनले भनिन्, ‘यत्रो पैसा कहाँबाट ल्याउनू ? ।’

प्रकाशकोे उपचारमा संलग्न चिकित्सकले उनलाई खुट्टाको शल्यक्रिया गरेपछि मात्र हिँड्डुल गर्न सक्ने बताए । समान्य खेती किसानी गर्ने चौधरीको परिवार यतिधेरै समय अस्पतालमा राखेर उपचार कसरी गर्ने भन्ने चिन्तामा उनी छिन् । उनले उपचारमा सहयोग पुर्याउन प्रदेश, स्थानीय सरकारदेखि मनकारी व्यक्तिहरूसँग हारगुहार गरिन् ।

अस्पतालका अपरेशनल म्यानेजर ज्याउल हकले पैसा अभावमा प्रकाशको उपचार प्रभावित भएको बताए । ‘गम्भीर बिरामी भएर आएका प्रकाश टाउको र श्वास नलीको अप्रेसन गरेर बचाएका छौं,’ उनले भने, ‘शल्यक्रिया त अस्पतालले गर्नेछ । तर, बिरामीसँग स्टिल किन्ने पैसा नभएर समस्या भएको हो ।’