धरान । चलचित्र ‘प्रसाद–२’ रिलिजको पूर्वसन्ध्यामा विवादमा तानिएको छ । चलचित्रको निर्माता बनाउने भन्दै ठगी गरेको आरोप लागेपछि यसका निर्माता सुवास थापा फरार छन् ।
उनले निर्माता बनाउने भनेर ६२ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी फरार भएका हुन् । गत फागुन २९ गते ‘प्रसाद २’ का निर्माता थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो । बैङ्किङ कसूरको मुद्दामा जाहेरी परेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध केशव पाण्डेले जाहेरी दिएका हुन् । उनले ‘प्रसाद २’ सेन्सरसम्बन्धी कार्य रोकी पाउँ भन्दै चलचित्र विकास बोर्डमा समेत उजुरी दिएका थिए । पाण्डेलाई ठगी गरेको आरोप लागेका थापाले फिल्मको सुटिङ गरिएको ठाउँको होम–स्टेमा समेत पैसा तिरेका छैनन् । होम–स्टे र प्राविधिकसहित पैसा नभएको भन्दै थापाविरुद्ध ६ जनाले बोर्डमा उजुरी गरेका हुन् ।
सोमबार बोर्डले दुवै पक्षबीच सहमति गराउने भन्दै छलफलका लागि बोलाएको थियो । बोर्डमा पाण्डे उपस्थित भए पनि निर्माता थापा अनुपस्थित रहे । उनको पक्षमा वितरक गोपाल कायस्थ उपस्थित थिए ।
बोर्डले फिल्म चलाउने निर्णय गरेसँगै पाण्डेले असहमति जनाएका छन् । बैङ्किङ कसूरमा फरार रहेका थापाले सामाजिक सञ्जालमार्फत् फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन् ।