विजयपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ४४ वर्ष पुराना भवनमा अध्ययन अध्यापन भइरहेको पाइएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसपछाडि सबैभन्दा बढी विद्यार्थी अध्यापन गराउने क्याम्पसले आर्थिक अभावमा नयाँ भवन बनाउन नसकेको क्याम्पसले जनाएको छ । 

मङ्गलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले क्याम्पसको स्थलगत अवलोकन गरे ।  क्याम्पस प्रमुख काजीराम कार्कीले क्याम्पसको विद्यमान जटिलता, जनशक्ति अभाव र जीर्ण भौतिक संरचनाबारे जानकारी गराउँदै सुधारका लागि मन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । 

उनले जीर्ण भवनबारे पनि अवगत गराए । मन्त्री पोखरेल समक्ष क्यम्पस प्रमुख कार्कीले भने, “४४ वर्ष पुराना भवनमा अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता छ । भवनमा पानी चुहिन्छ । आर्थिक अभावमा पुनर्निर्माण गर्न सकिएको छैन ।” क्याम्पस प्रमुख कार्कीका अनुसार क्याम्पसको नयाँ भवनमा निर्माणका लागि करिब ३५ करोड रुपैयाँ लाग्ने र ३० देखि ४० वर्ष धान्नेछ । जीर्ण भवनको मर्मत सम्भार गर्नका लागि पनि २ करोड रुपैयाँ लाग्ने प्रस्तावमा उल्लेख छ । तर, क्याम्पसलाई १२ वर्षदेखि विकास बजेट नआएको जनाएको छ । 

क्याम्पसमा ल्यावको भवन तथा उपकरण पनि पुराना तथा जीर्ण छन् । पुराना उपकरणमा विद्यार्थी प्रयोगात्मक अभ्यास गर्न बाध्य छन् । क्याम्पस प्रमुख कार्कीका अनुसार ल्यावका  उपकरण ६६ वर्ष पुराना छन् । क्याम्पस प्रमुख कार्की भन्छन्, “सन् १९६० का ल्यावका उपकरण छन् । विद्यार्थीले कसरी गुणस्तरीय शिक्षा लिन्छन् ?” ल्यावमा नयाँ उपकरणका लागि करिब १० करोड रुपैयाँ लाग्ने प्रस्ताव गरिएको छ । आर्थिक अभावले क्याम्पसको पुस्तकालय लामो समयदेखि व्यवस्थापन गर्न नसकेको क्याम्पस प्रमुख कार्की बताउँछन् । ई–लाइब्रेरीको व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँ लाग्नेछ ।