विजयपुर । श्रम संस्कृति पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरेको छ ।

बिहीबार पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले संविधान संशोधन कार्यशालामा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने प्रस्ताव गरेका हुन् । प्रत्यक्ष निर्वाचित प्रमुखको नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्ने र मन्त्री चयन गर्दा समावेशी सिद्धान्त अनिवार्य रूपमा लागू गर्नुपर्ने पार्टीले प्रस्ताव गरेको छ । यस्तै, व्यवस्थापिकाको भूमिकालाई थप सुदृढ बनाउनेतर्फ पनि प्रस्ताव केन्द्रित छ । संसद्ले सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्ने, सरकारका कामको अध्ययन, मूल्यांकन तथा अनुगमन गर्ने र आवश्यक सुझाव दिने व्यवस्था प्रस्ताव गरिएको छ । साथै कार्यकारी प्रमुखको अधिकार र सीमालाई स्पष्ट पार्ने तथा महाभियोगमार्फत जवाफदेही बनाउने प्रावधान पनि अघि सारिएको छ ।