विजयपुर । वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३ औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
बिहीबार आयोजक संस्था रारा फुटबल क्लब राजारानीले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । चण्डीपूर्णिमा तथा बुद्धजयन्तीका अवसरमा आयोजना हुँदै आएको प्रतियोगितामा देशभरिबाट आठ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । प्रतियोगिताको प्रथम पुरस्कार सात लाख र दोस्रो तीन लाख रुपैयाँ रहेको छ । प्रतियोगिता जिल्लाकै सबैभन्दा बढी धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।
प्रतियोगितामा आयोजक रारा, सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौँ), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा)को सहभागिता रहनेछ । कार्यक्रम सम्पन्न गर्न ३६ लाख ५० हजार रुपैयाँ बराबरको खर्च हुने संस्थाका सचिव जीवन कटुवालले जानकारी दिए । रासस