धनकुटा । धनकुटा नगरपालिकाका ११.३ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनका लागि आयोजना गरेको प्रथम स्थानीय स्वेच्छिक मूल्याङ्कन (भिएलआर) सम्बन्धी सरोकारवाला परामर्श गोष्ठीमा प्रस्तुत तथ्याङ्कले आर्थिक असमानता अझै चुनौतीका रूपमा रहेको देखाएको हो ।

नगरपालिकाका सूचना अधिकारी तथा आर्थिक विकास अधिकृत विकास अधिकारीका अनुसार रोजगारी सिर्जना गर्न नसक्नु, आर्थिक स्रोतको अभाव, बढ्दो बसाइँसराइ, जलवायु परिवर्तन, प्रविधिको सीमित पहुँच तथा चेतनास्तरमा रहेको असमानता दिगो विकास लक्ष्य प्राप्तिका प्रमुख चुनौती बनेका छन् । विशेषगरी युवाशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा स्थानीय उत्पादन, कृषि र श्रमशक्तिमा प्रत्यक्ष असर परेको सरोकारवालाहरूले बताएका छन् ।

यिनै चुनौतीबीच धनकुटा नगरपालिकाले दिगो विकास लक्ष्यलाई नीति तथा बजेटमार्फत् प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सरोकारवालासँग परामर्श गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ मा घोषणा गरेको दिगो विकास लक्ष्यलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गर्न तथ्यमा आधारित योजना निर्माण र समुदायको सहभागिता बढाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

आइसिएलइआई साउथ एसियाको सहयोगमा सम्पन्न परामर्श गोष्ठीमा स्थानीय तहहरू विकासका प्रमुख आधारका रूपमा स्थापित भइरहेका बेला नगरपालिकाले हाल दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये विशेषगरी गरिबी निवारण, गुणस्तरीय शिक्षा, स्वास्थ्य जीवन तथा लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै काम गरिरहेको जनाएको छ । यसका लागि आधारभूत तथ्याङ्क सङ्कलन गरी आगामी दिनमा अपनाउनुपर्ने नीति, योजना, सम्भावना र चुनौतीबारे छलफल तथा सुझाव सङ्कलन गरिएको अधिकृत अधिकारीले जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्वास्थ्य क्षेत्रमा भने उल्लेखनीय सुधार देखिएको छ । गर्भवती, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर शून्यमा झारिएको दाबी गरिएको छ । खोप सेवाको पहुँच शतप्रतिशत पुगेको छ भने ९९.७४ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराउने गरेका छन् ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा पनि प्रगति देखिएको छ । नगरपालिकाका अनुसार ९२ प्रतिशत उपभोक्ताले धाराको पानी प्रयोग गरिरहेका छन् भने ८४ प्रतिशत नागरिक सुरक्षित शौचालयको पहुँचमा पुगेका छन् ।

यद्यपि कृषि तथा साना उद्यमलाई आधुनिक प्रविधिसँग जोड्न नसक्दा आर्थिक विकासको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको सरोकारवालाहरूको भनाइ छ । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको अस्थिरताले ग्रामीण समुदाय थप प्रभावित बन्दै गएको तथ्याङ्कले देखाएको छ ।

परामर्श गोष्ठीमा सहभागीहरूले दिगो विकास लक्ष्य प्राप्ति केवल सरकारी योजनाले मात्र सम्भव नहुने भन्दै समुदाय, निजी क्षेत्र र नागरिक समाजको साझा सहभागिता आवश्यक रहेको धारणा राखेका थिए । स्थानीय आवश्यकता र वास्तविकतामा आधारित योजना निर्माण, प्रभावकारी बजेट व्यवस्थापन तथा जनसहभागिता अभिवृद्धिमा जोड दिइएको थियो ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न अब बाँकी रहेको चार वर्षलाई लक्षित गरी सरोकारवालासँग परामर्श गरिएको बताए । उनले गोष्ठीबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरी आगामी योजना तथा कार्यक्रम निर्माण गरिने जानकारी दिए ।

नगरपालिकाले तथ्यमा आधारित नीति, पारदर्शी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नसके दिगो विकास लक्ष्य हासिल गर्न सकिने विश्वास रहेको जनाएको छ ।