मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहासकै सबैभन्दा ठूलो संस्करण मेक्सिकोको प्रभावशाली जितसँगै सुरु भएको छ। घरेलु समर्थकले भरिभराउ एस्टाडियो एजटेकामा बिहीबार सम्पन्न उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
मेक्सिकोका लागि जुलियन क्विनोन्सले खेलको नवौँ मिनेटमै गोल गर्दै विश्वकपको पहिलो गोलकर्ता बने। त्यसपछि अनुभवी स्ट्राइकर राउल जिमेनेजले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे। तीन फरक विश्वकप संस्करणका खेल आयोजना गर्ने विश्वकै पहिलो रङ्गशालाका रूपमा एजटेकाले नयाँ इतिहास पनि रच्यो।
प्रतिस्पर्धात्मक बनेको खेलमा तीन खेलाडी रातो कार्डको शिकार भए। दक्षिण अफ्रिकाका स्फेफेलो सिथोले स्पष्ट गोल अवसर रोकेपछि मैदान छाड्नुपरेको थियो भने मेक्सिकोका सेजर मोन्टेस पनि फाउलका कारण निष्कासित भए। खेलभरि दुवै टोलीबीच तीव्र प्रतिस्पर्धा र शारीरिक सङ्घर्ष देखिएको थियो।
जितपछि मेक्सिकोका प्रशिक्षक जेभियर अगुइरेले उद्घाटन खेलको दबाब खेलाडीहरूमा स्पष्ट देखिएको बताए। प्रारम्भिक तनावका बाबजुद टोलीले खेलमाथि नियन्त्रण कायम राख्न सफल भएको उनको भनाइ थियो।
मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा पहिलो पटक ४८ टोली सहभागी छन्। प्रतियोगिता करिब छ सातासम्म चल्नेछ र जुलाई १९ मा न्युजर्सीमा हुने फाइनलसँगै सम्पन्न हुनेछ।
उद्घाटनअघि आयोजित सांस्कृतिक कार्यक्रममा कोलम्बियाकी गायिका शाकिरा, नाइजेरियाली कलाकार बर्ना ब्वाई तथा इटालीका टेनर एन्ड्रिया बोसेलीले प्रस्तुति दिँदै समारोहलाई आकर्षक बनाएका थिए। रङ्गशालाभित्र उत्सवमय माहोल रहे पनि बाहिर केही समूहले विभिन्न माग राख्दै प्रदर्शन गरेका थिए।
प्रतियोगितासँगै टिकट मूल्य, आप्रवासन नीति र विभिन्न राजनीतिक विषय पनि चर्चामा छन्। महँगा टिकटलाई लिएर फिफाको आलोचना भइरहेको छ भने केही टोली र अधिकारीहरूको प्रवेश प्रक्रियाले पनि ध्यान तानेको छ।
यसपटकको विश्वकपमा स्पेन, फ्रान्स र इङ्ल्यान्डलाई प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ। साविक विजेता अर्जेन्टिना पनि कप्तान लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। मेक्सिकोको विजयी सुरुआतसँगै विश्व फुटबलको महाउत्सव आगामी हप्ताहरूमा अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। रासस/एएफपी