धनबहादुर पुरी/ पूर्वबाट काठमाडाै जाने माईक्रोहरुले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको पाइएको छ । धरान, इटहरी, विराटनगरआदि पूर्वका शहरबाट सिन्धुलीको नयाँ बाटोहँुदै काठमाडाै जाने माईक्रोहरुले यात्रुबाट ब्रह्मलुट मच्चाइरहेपनि सम्बन्धित निकाय तैँ चुप् मैँ चुप् बनेका छन् । माईक्रोहरुले यात्रुबाट पुरानो रुटको पुरानै भाडा लिने गरेपनि नियमनकारी निकाय बोल्न सकेका छैनन् ।
नियमित अनुगमन नहुँदा सिन्धुलीहुँदै काठमाडौं जाने माईक्रोले यात्रुबाट १२ देखि १३ सय रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् । सिन्धुलीहैदै काठमाडाै जाने सार्वजनिक सवारी साधनको भाडादर सरकारले ८ सय ३ रुपैयाँ तोकेको छ । त्यसमा डिलक्सको सुविधा लिएर ब्लु बुकमा प्रमाणित भएमा २० प्रतिशत भाडा वृद्धि गर्नसक्ने व्यवस्था छ । डिलक्स माईक्रोले २० प्रतिशत भाडा वृद्धि गर्दा पनि धरानबाट काठमाडौं जाने भाडादर ९ सय ६३ रुपैयाँ मात्र हुने भएपनि माईक्रोहरुले १३ सय रुपैयाँ लिइरहेका छन् । त्यसमा पनि अधिकांशले डिलक्स सुविधा दिँदैनन् ।
सिन्धुलीहुदै काठमाडाै जाँदा जम्मा ३ सय ७१ किलोमिटर दूरी छ । तर माईक्रोले पहिलाकै रुटको बाटो ५ सय ३९ किलोमिटरको भाडा असुल्ने गरेका छन् । इटहरीका सुदीप धमलाले गत शुक्रबार १२ सय रुपैयाँ तिरेर खुर्कोटको बाटो आपूm काठमाडाै गएको बताए । उनले भने, ‘माईक्रोमा एसी सुविधा पनि छ भनेको थियो तर बाटोमा एसी चलाएनन् ।’ ठाउँ ठाउँमा काउण्टर खोलेर बसेकाहरुले सरकारी नियमको धज्जी उडाउँदै यात्रुबाट मनपरी भाडा लिइरहेको सर्वसाधारण यात्रुको आरोप छ ।
सार्वजनिक सवारी साधनमा सबै यात्रुले प्रष्ट देखिने गरी भाडादर राख्नुपर्ने नियम छ । यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी र आपूmखुशी भाडा असुलीका कारण सर्वसाधारण ठगिने क्रम बढिरहँदा समेत यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालय मौन बस्दै आएका छन् । कोशी अञ्चल यातायात कार्यालयका प्रमुख विष्णु पौडेलले सरकारले तोकेको भाडादर भन्दा बढी असुलेको पाइए कार्वाही गरिने बताए । उनले भने, ‘यस विषयमा हामी चाँडै अनुगमन गर्छौैं ।’
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी पवन गिरीले लिखित उजुरी नआएको कारण आपूmहरुले अनुगमन नगरेको बताए । छोटो दूरीको यात्राको विषयमा उजुरी पर्ने गरेकाले धेरैको भाडा फिर्ता समेत गरिसकेको उनले बताए । भने, ‘यो विषयमा म बुभ्mछु ।’ बढी भाडा लिएको उजुरी परे तत्काल कार्वाहीको दायरामा ल्याउने एसपी गिरीको भनाइ छ । भाडादरको अनुगमन, यातायात कार्यालय र जिल्ला प्रशासन कार्यलयको समन्वयमा हुनुपर्ने उनको भनाइ थियो ।
सप्तकोशी माईक्रो बस व्यवसायी सङ्घका अध्यक्ष सन्तोष खड्काले धरान र विराटनगरबाट खुर्कोटको बाटोहूदै काठमाडाै जाँदा १३ सय रुपैयाँ भाडा लिइरहेको स्वीकार गरे । इटहरीबाट जानेले १२ सयसम्म तिरिरहेको उनको भनाइ थियो । नेपाल सरकारले तोकेको भाडादर भन्दा धेरै बढी नभएको गैरजिम्मेवार उत्तर खड्काले दिए । पूर्वबाट लगभग एक सय माईक्रो काठमाडाै जाने गरेका छन् । प्रतिस्पर्धा भएकै कारण भाडामा केही घटबड भएको उनको भनाइ छ । पूर्वबाट काठमाडौं लैजाने आधा दर्जन माईक्रो बस व्यवसायी सङ्घ छन् ।