aagoभोजपुर/ हिउँदको सुक्खा समय सुरु भएसँगै आगलागी हुँदा भोजपुरका सामुदायिक वन सखाप बन्दै गएका छन् ।
यस आर्थिक वर्षमा सामुदायिक वनका एक हजार ३२१ हेक्टरभन्दा बढी क्षेत्रफलमा आगो लागिसकेको जिल्ला वन कार्यालयको तथ्याङ्क छ ।
गएको फागुन यतादेखि ४६ वटा सामुदायिक वनमा आगलागी भइसकेको जिल्ला वन कार्यालय भोजपुरका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो ।
अहिले पनि जिल्लाका पाँचभन्दा बढी सामुदायिक वनमा आगो लागिरहेको छ । छिनामखु गाविसको लेम्लेमे सामुदायिक वनमा एकहप्ता अगाडिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
गएको शुक्रबार सदरमुकामकै तीनधारा सल्लेरी सामुदायिक वनमा आगो लाग्दा पाँच हेक्टर क्षेत्रफलको वन सखाप भयो । त्यसैगरी, च्याङ्ग्रे गाविसको लामीडाँडा सामुदायिक वनमा पनि सोही दिन आगो लाग्दा विभिन्न वन पैदावार सखाप भएको थियो ।
आगलागीका कारण यस वर्ष मात्रै सात लाख ५० हजारभन्दा बढी मात्रामा पुनरुत्पादन भएका सखुवा, सल्ला, पात्ले, चिलाउने, उत्तिसलगायत प्रजातिका रुख नष्ट भएको सहायक जिल्ला वन अधिकृत वीरेन्द्र महासेठले बताउनुभयो ।
आगलागीका घटना वर्षैपिच्छे हुने गरेपनि हालसम्म आगो लगाएको आरोपमा यस वर्ष मात्र एक जना पक्राउ परेका छन् ।
कोट गाविसको आहाले र दशकते वनमा आगो लगाएको आरोपमा सिद्धेश्वर गाविसका अमृतबहादुर सार्की पक्राउ परेका हुन् ।
चुरोट खाएर जथाभावी फाल्नाले दुईवटा वनमा आगो लागेपछि उपभोक्ताले उनलाई पक्राउ गरी जिल्ला वन कार्यालयलाई बुझाएका थिए ।
हाल जिल्लामा ५४३ वटा सामुदायिक वन रहेका छन् । जिल्लाको कुल वन क्षेत्र ८२ हजार ८५५ हेक्टरमध्ये सामुदायिक वनले मात्र ४१ हजार ३०६ हेक्टर क्षेत्रफल ओगटेको छ ।