यजिदी कुर्दिस महिलाहरुले यौनदासी बन्न अस्वीकार गर्दा आईएसआईएसको कब्जामा रहेक १९ जनालाई इराकको मोसुलमा आतंककारीहरुले पिंजडामा हालेर जिउँदै जलाएका छन् । कुर्दिस न्यूज एजेन्सी एआरएले जनाए अनुसार यस घटनाका क्रममा सयौं मानिसहरु निरिह बनेर रमिता हेर्न बाध्य थिए । अमानविय तवरले पिजाडामा हालेर ति महिलाहरुलाई जलाएका छन् ।
इस्लामिक स्टेट लडाकूसँग यौनसम्बन्ध राख्न इन्कार गरेपछि उनीहरुलाई जिउँदै जलाइएको कुर्दिस
समाचार एजेन्सी अब्दुल्ला अलमालालाई उधृत गर्दै श्रोतले बताएको छ । समाचार अनुसार अघिल्लो महिनामा पनि आईएसआईएसले २५ जना इराकी बन्धकलाई एसिडमा डुबाएर हत्या गरेको समाचार आएको थियो । इराक, सिरिया र लिबियामा आईएसआईएसद्वारा धर्मको नाममा मानिसको ज्यान लिने कयौं मामिला सार्वजनिक भइरहेका छन् ।
यसरी मानिसको ज्यान लिँदा अत्यन्तै क्रुर तरिका अपनाइने गरिएको छ । अगस्त २०१४ मा आईएसआईएसले उत्तरी इराकको यजिदी इलाकामा आक्रमण गरेका थिए । यसपछि ४ लाख भन्दा धेरै मानिसहरुले दोहुक, इरबिल र कुर्दिस्तान छाडेर भाग्नुपरेको थियो ।
स्थानीय सैन्य स्रोतका अनुसार यस हमलामा सयौं मानिसको ज्यान गएको थियो । यहाँबाट सयौं मानिसलाई अपहरण पनि गरिएको थियो । यस क्रममा ठूलो संख्यामा युवती र महिलामाथि बलात्कार गरिएको थियो । ज्यान जाने डरले हजारौं यजिदीहरुले सिंजारको पहाडमा गएर बस्नुपरेको थियो । आतंककारीहरुले ३ हजार भन्दा धेरै यजिती युवतीहरुलाई यौनदासी बनाउनका लागि अपरहण गरेका थिए ।