धरान/जुनियर रेजिडेन्ट मेडिसिन विभागमा कार्यरत प्रदीप मण्डलमाथि हातपात गरेपछि आन्दोलित बनेको जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस) ले आन्दोलन फिर्ता लिएको छ । प्रतिष्ठान प्रशासनसँगको छलफलमा दोषीलाई कारबाही गर्ने सहमति बनेपछि आन्दोलन फिर्ता लिएको सोसाइटीका अध्यक्ष जिवनाथ धमलाले बताएका छन् । करिव साढे १२ बजेसम्म बसेको छलफलमा सहमति बनेपछि उनीहरुले ओपिडीमासमेत काम थालेका छन् । तर, २४ घण्टा भित्र दोषीमाथि कारबाही हुने वातावरण नबनेमा आन्दोलन पुनः थालिने उनले बताए । मण्डलमाथि हातपात गरेका आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ । तर, पक्राउ परेका व्यक्तिको नाम, थर सार्वजनिक गरिएको छैन् । अस्पतालमा अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताएका छन् । तर, उनले पनि नाम सार्वजनिक गर्न चाहेनन् । छलफलमा डिएसपी पौडेलसमेत सहभागी थिए । छलफलमै कारबाही गर्ने सहमति गरेपछि आन्दोलन फिर्ता लिएर काम थालेका हुन् । सोसाइटीका अध्यक्ष धमलाका अनुसार प्रतिष्ठान प्रशासनको तर्फबाट अस्पताल निर्देशक प्रा.डा. गौरीसंकर अग्रवाललगायत रहेका थिए ।