भद्रपुर । सामुदायिक विद्यालयले कम्प्यूटर शिक्षामा जोड दिदै आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ । झापाको दक्षिणी कचनकवल गाँउपालिका ६ स्थित बनियानी चोकमा रहेको लक्ष्मी माध्यामिक विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक सहयोग संकलन शुरु गरेको हो । विद्यालयमा कम्प्यूटर ल्याव र इ–लाइव्रेरी निर्माणका लागि रकम संकलन भियान शुरु गरेको विद्यालय प्रशासनले जनाएको छ । सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएपनि आर्थिक समस्याका कारण विद्यालयमा आवश्यक भौतिक सामग्री जडान गर्न नसक्दा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै अभियान शुरु गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर लम्जेलले बताए । स्थानीय मातृभाषाको रुपमा पाठ्यक्रम तोकिए अनुसार कक्षा ४ देखि ८ सम्म सरकारले कम्प्यूटर शिक्षा लागू गरेपनि आर्थिक अभावले विद्यार्थीहरु विद्यालयमा कम्प्यूटर देख्न समेत नपाएको प्रधानाध्यापक लम्जेलले बताए । घट्दो शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, विद्यार्थी तथा अभिभावकहरु अभियानमा लागेको उनको भनाइ छ ।

विद्यार्थीहरुलाई कम्प्युटरमा दक्ष बनाउने उदेश्यले अभियानको थालनी गरेको विद्यालयका शिक्षक रत्न बुढाथोकीले बताए । यसका लागि स्वदेश तथा विदेशमा रहेका अभिभावक, पूर्वविद्यार्थी, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिककर्मी, विभिन्न संघसंस्था गरी ३० सदस्य आर्थिक सहयोग संकलन समिति समेत गठन गरिसकेको शिक्षक बुढाथोकीले जनाए । गठित समिति प्रवास तर्फमा अमेरिकाबाट भोजकुमार श्रेष्ठ, जापानबाट बिबिन गौतम, बिमल रिजाल, युकेबाट भुमि बुढाथोकी, कोरियाबाट मदन दँगाल, गगन भट्टराई, अष्ट्रेलियाबाट कर्ण राजंवशी, प्रताप खरेल, साउदी अरेबियाबाट मानबहादुर भट्टराई, कतारबाट सोम चौलागाईं, नमुना बिष्ट, कुवेतबाट नवीन गौतम, युएईवाट जीवन दास, निच्छल दाहाल, मलेसियाबाट भोला उप्रेती, विकाश बस्नेत रहेका छन् भने नेपालको तर्फबाट विद्यालयका प्रअ. खगेन्द्रबहादुर लम्जेल, शिक्षक रत्न बुढाथोकी कुलबहादुर कार्की, शिवप्रसाद गुरुङ, कालेन्द्र राजवंशी, जयनारायण राजवंशी, डिल्लीराम भट्टराई, झमक खड्का, तुलसीप्रसाद खतिवडा, दिलबहादुर कार्की, बासु दाहाल, रबि ओझा, होमनाथ अर्याल, तेजराज मैनाली, हरि बस्नेत, श्याम घिमिरे, चिन्तामणि खरेल लगायत रहेका छन् । वि.स. २०२१मा प्राविबाट पठनपाठन सुरु गरेको विद्यालयले ०३९ सालमा निमावि हुर्दै ०५२ सालमा मावि र ०५८ सालदेखि कक्षा १२ सम्म अध्ययापन गराउँदै आएको छ । कक्षा १ देखि १२ सम्म हाल ९ सय २ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको विद्यालयमा विपन्न तथा गरिब बिद्यार्थी अध्ययनरत छन् ।