उर्लाबारी/उर्लाबारीमा जारी श्रीमद् शिवमहापुराण विराट ज्ञान महायज्ञमा नेपालका प्रथम जगद्गुरु अनन्त श्रीविभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजलाई सम्मान गरिएको छ ।
शिद्धेश्वर शिव बाबाधाम उर्लाबारीको आयोजनामा गत मङ्सिर १० गतेदेखि सञ्चालन भइरहेको महायज्ञको ७ औं दिन जगद्गुरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा जगद्गुरुले प्रवचन समेत दिएका थिए ।
उर्लाबारीमा धाम निर्माण गर्ने उद्देश्य अनुसार शुरु भएको महायज्ञमा हालसम्म करिब २२ लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।
मङ्सिर २० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले मन्दिरहरूको नगरीका रूपमा परिचित उर्लाबारीलाई धामको रूपमा विकसित गराउने उद्देश्य रहेको छ ।
महायज्ञमा प्रखर धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमबाट दैनिक दार्शनिक प्रवचन, सरस पुराण वाचक आचार्य छन्दुराम भण्डारीबाट कथा वाचन, पण्डित उमेश आचार्यबाट पाठपारायणका साथै चर्चित कलाकारहरूबाट देवलीला सहितको झाँकी प्रदर्शन, सङ्गीतमय भजनकीर्तन तथा कथा प्रवचन कार्यक्रम भइरहेको आयोजक समितिका संयोजक जङ्गबहादुर कार्कीले जानकारी दिए ।