नेपालमा मनसुन सक्रिय हुने चरणमा छ । मनसुनको समयमा बढीभन्दा बढी नागरिकहरु सचेत बन्नुपर्ने अवस्था छ । विगतका तथ्यहरुलाई मनन् गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । सरकारले पनि मनसुनका बेलामा जनतालाई बढीभन्दा बढी सचेतना जगाउनुपर्ने अवस्था छ । पछिल्ला दिनहरुमा जलवायु परिवर्तनको असर नेपालमा पनि प्रशस्तै देखिँदै आएका छन् । जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरुले पनि यसबारे सूचित गरिरहेको अवस्था छ । यो पटक मनसुन अन्य बेलाभन्दा केही चाँडो आउने सङ्केतहरु देखिँदै छन् । विभागले जनाए अनुसार यस वर्ष दक्षिणी बङ्गालको खाडीमा सामान्य समयभन्दा एक साताअगावै (१६ मे) मनसुन भित्रिएको भनिएको छ । यसको सिधा प्रभावस्वरुप नेपालमा पनि निर्धारित समय (१३ जुन) भन्दा झण्डै दुई साताअगाडि नै मनसुन प्रवेश गर्ने निश्चित छ । मे महिनाको अन्त्यसँगै मनसुन सक्रिय हुने सम्भावना बलियो छ । गत वर्षभन्दा १५ दिन अगावै मनसुन भित्रिन सक्छ । मनसुनका बेला बाढीपहिरोजस्ता विपद्हरु निम्तिन सक्छन् । यसकारण बेलैमा सचेत नहुने हो भने विगतमा हामीले भोगेका दुःखहरु यस वर्ष पनि निम्तिने निश्चित प्रायः छ ।

हरेक वर्ष मौसममा फेरबदल आउन थालेको छ । यो एकदमै चिन्ताको विषय हो । यस वर्षको प्रि–मनसुन अवधिमा देशका अधिकांश भूभागमा औसतभन्दा बढी (१०३.६ प्रतिशत) वर्षा भइसकेको अवस्था छ । जसले जमिनलाई पहिले नै भिजाइसकेको छ । यसो हुँदा बढी पानी पर्ने अवस्था भइरहेमा बाढी तथा पहिरो जाने सम्भावना पनि प्रबल हुन्छ । हाम्रो जस्तो भूबनोट भएका देशहरुमा यस्ता विषयमा बढी गम्भीर बन्नुपर्ने अवस्था छ । तर यो वर्षको मनसुनमा ‘एल–निनो’ प्रणालीका कारण औसतभन्दा कम वर्षा हुने र औसतभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिएको छ । प्रि–मनसुनको अधिक वर्षा र मुख्य मनसुनको न्यून वर्षा हुँदा यसको प्रत्यक्ष असर कृषकहरुलाई पर्न जान्छ । हाम्रो जस्तो कृषिप्रधान मुलुकका लागि यो प्रत्युत्पादक हुने निश्चित छ । कम पानी पर्दा एकातिर कृषि उत्पादनमा असर पार्न सक्छ भने अर्कोतिर छोटो समयमा धेरै वर्षा अर्थात् आरीघोप्टे पानी पर्ने कारण अचानक बाढी र पहिरोको जोखिम बढ्न सक्छ ।

विगतको तथ्यलाई हेर्दा नेपालमा मनसुनको अवधि लम्बिने क्रममा छ । गतवर्ष १ सय ३४ दिनसम्म मनसुन रहेर असोजको अन्त्यतिर मात्र बाहिरिएको थियो । यसले के देखाउँछ भने अब हामी परम्परागत मौसमी क्यालेन्डरमा मात्र भर पर्न सक्दैनौँ । जलवायु परिवर्तनका कारण मनसुनको आगमन यसको सघनता र बहिर्गमनको ढाँचा अनपेक्षित बन्दै गइरहेको छ । अतः मौसमविद्हरुको यो पूर्वानुमानलाई केवल एउटा प्राविधिक सूचनाका रुपमा मात्र लिएर बस्ने छुट सरकार र सरोकारवाला निकायलाई छैन । मनसुन चाँडै भित्रिने र प्रकृतिको रुप अनपेक्षित हुने सम्भावनालाई मध्यनजर गर्दै विपद् व्यवस्थापनका रणनीतिहरुलाई अहिल्यैबाट तीव्र बनाउन आवश्यक छ । पहाडी भेगमा पहिरो र तराईमा डुबानको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई चुस्त राखिनुपर्छ । कृषि क्षेत्रमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न किसानहरुलाई बेलैमा सचेत गराउनु पर्छ । वैकल्पिक सिँचाइ तथा प्रविधिको तयारीमा ध्यान दिनु आजको आवश्यकता हुँदै गएको छ । प्रकृतिले आफ्नो सङ्केत समयभन्दा अगाडि नै दिइसकेको छ, अब हामीले पूर्वतयारी अपनाउनु नै श्रेयष्कर हुनेछ ।