विराटनगर । विज्ञान सङ्कायको पठनपाठनमा प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान बनाएको विराटनगरस्थित अरनिको र शिक्षादीप कलेजमा कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूको आकर्षण देखिएको छ । दुवै कलेजले शनिबार लिएको प्रवेश परीक्षामा कोटा क्षमताभन्दा झण्डै तेब्बर विद्यार्थी सहभागी भएका छन् ।
शिक्षादीप कलेजका प्रिन्सिपल राजेश कार्कीका अनुसार कक्षा ११ विज्ञान सङ्कायमा भर्नाका लागि कुल २ हजार ७ सय विद्यार्थीले आवेदन फारम भरेका थिए । तीमध्ये शनिबार सम्पन्न प्रवेश परीक्षामा २ हजार ४ सय ७७ जना विद्यार्थी सहभागी भएका छन् । कलेजले यस वर्षका लागि १ हजार १ सय कोटा निर्धारण गरेको छ, जसमा बिहान र दिउँसो गरी दुई सिफ्टमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।
विज्ञान सङ्कायको अध्यापनमा अब्बल मानिने यस कलेजका विद्यार्थीहरूले प्रत्येक वर्ष चिकित्सा र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । शिक्षादीप कलेजले लिएको प्रवेश परीक्षामा मधेश र कोशी प्रदेशका विद्यार्थीहरू सहभागी भएका थिए । शिक्षादीपमा ८ सय जनाको कोटामा मधेश प्रदेशका समेत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विराटनगरमा रहेर लामो समयदेखि विज्ञान शिक्षामा विशेषज्ञता हासिल गरेको यस कलेजले विद्यार्थीको चापलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार र जनशक्तिमा समेत विशेष ध्यान दिएको जनाएको छ । प्रवेश परीक्षाको नतिजा र भर्ना प्रक्रिया छिट्टै अगाडि बढाइने कलेज प्रशासनले उल्लेख गरेको छ ।