वराहक्षेत्र । केही वर्षअघिसम्म वराहक्षेत्र नगरपालिका–२ का स्थानीय जङ्गली हात्तीको त्रासमा बाँचेका थिए । रात परेपछि बाली जोगाउन खेततिर दौडिनुपर्ने बाध्यता थियो । हात्तीले अन्नबाली मात्र होइन; स्थानीयको दैनिक जीवन नै असुरक्षित बनाएको थियो ।
तर अहिले यहाँको समस्या फेरिएको छ । हात्तीको त्रास केही कम हुँदै जाँदा स्थानीयवासी अब नयाँ सङ्कटसँग जुधिरहेका छन् । यति बेला उनीहरू बाँदरको आतङ्कबाट हैरान छन् । सयौँको समूहमा आउने बाँदरले खेतबारीमा लगाइएको मकै नष्ट गर्न थालेपछि किसानहरू हैरान भएका हुन् । वराहक्षेत्र–२ अन्तर्गत रेल–वे लाइन, रेल–वे लाइन पूर्व पुनर्वास, जब्दी र पुल्ठेगौँडा क्षेत्रका किसान अहिले बिहान–साँझ खेतमै पहरा दिन बाध्य छन् ।
स्थानीय युवराज भट्टराईका अनुसार बाँदरको समूह अचानक खेतमा पस्छ र केही मिनेटमै ठूलो क्षति पु¥याएर फर्किन्छ । “मकै पाक्न थालेपछि बाँदर झन् बढी आउँछन्” उनले भने, “खोस्टा उखेलिदिन्छन्; कलिलो मकै खाइदिन्छन् । डेढ कठ्ठामा लगाएको मकैमा धेरै नोक्सान भइसकेको छ ।” बाँदरको उपद्रो खेतमा मात्र सीमित छैन । पुल्ठेगौँडाका झप्पडबहादुर कटुवालका अनुसार बाँदरले घरभित्रै पसेर राखिएको अन्नसमेत नष्ट गर्न थालेका छन् । “घरको झ्याल–ढोका खुला भयो भने भित्र पसिहाल्छन्” उनले भने, “मकै, चामल जे भेट्यो त्यही छरपस्ट पारिदिन्छन् ।”
स्थानीयले बाँदर भगाउन अनेक उपाय अपनाइरहेका छन् । थाल ठटाउने, कराउने, गुलेली चलाउने जस्ता प्रयास भइरहेका छन् । तर ती उपाय प्रभावकारी हुन सकेका छैनन् । “बाँदरहरू निकै चलाख छन्” कटुवाल भन्छन्, “मानिस देख्नेबित्तिकै अग्ला रुखमा चढेर लुक्छन् । केहीबेरपछि फेरि झुण्ड बनाएर खेतमै फर्किन्छन् ।”
बाली जोगाउन अहिले किसानहरूले खेतमै अस्थायी टहरा बनाएर रातदिन पहरा दिन थालेका छन् । खेतको बीचमा बनाइएका साना टहरामा बसेर उनीहरू बाँदर धपाउन व्यस्त देखिन्छन् ।
उता समस्या बढ्दै गएपछि स्थानीय टोल सुधार समितिहरू पनि सक्रिय हुन थालेका छन् । वराह र बुद्धचौक टोल सुधार समितिले सामूहिक रूपमा बाँदर नियन्त्रणका उपाय खोज्न थालेको वराह टोल सुधार समितिका उपाध्यक्ष सुमन क्षेत्रीले बताए । “एक–दुई घरको समस्या होइन, पूरै बस्ती प्रभावित भइरहेको छ” उनले भने, “स्थानीय तहसँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने अवस्था आएको छ ।”
वडा सदस्यसमेत रहेका झप्पडबहादुर कटुवालका अनुसार हालसम्म औपचारिक रूपमा नगरपालिका वा वडामा ठूलो गुनासो भने परेको छैन । तर सयौँको सङ्ख्यामा बाँदर कहाँबाट आए भन्नेबारे कसैलाई स्पष्ट जानकारी छैन ।
स्थानीयवासीका अनुसार समस्या यस्तै बढ्दै गए नगरपालिका कार्यालयमै पुगेर समाधानको माग गर्ने तयारी भइरहेको छ । हात्तीको त्रासबाट मुक्त हुने आशा गरेका वराहक्षेत्र–२ का किसान अहिले अर्को समस्यासँग सङ्घर्ष गरिरहेका छन् । खेतबारीमा पाक्न लागेको मकैसँगै उनीहरूको चिन्ता पनि दिनहुँ बढ्दै गएको छ ।