विजयपुर । पूर्वी नेपालका विभिन्न जिल्लास्थित नेपाली सेनाका गण तथा गुल्मबीच सञ्चालन गरिएको ‘बाहिनीपति ट्रफी–२०८३’ मा नयाँ श्रीनाथ गण, भोजपुर च्याम्पियन बनेको छ ।

बिहीबार धनकुटा हिलको श्री नं. २ बाहिनी अड्डाले आयोजना गरेको प्रतियोगिताका विभिन्न ९ विधामा नयाँ श्रीनाथ गण, भोजपुरले भलिबल, बास्केटबल, फुटबल, एथ्लेटिक्स, बक्सिङ र तेक्वान्दोमा प्रथम बनेको हो । श्री भीमदल गण स्वीमिङ र कबड्डीमा च्याम्पियन भई द्वितीय बनेको छ । यस्तै, श्री शिवदल गण जुडोमा च्याम्पियन भई तृतीय बनेको छ ।

समापन कार्यक्रममा सहायक रथी दिवाकर विक्रम राणाले उत्कृष्ट प्रदर्शन गर्ने गण÷गुल्म, खेलाडी, प्रशिक्षक र निर्णायक मण्डललाई ट्रफी, मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरे । प्रतियोगिता वैशाख २३ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा कोशी प्रदेशका ६ जिल्लामा रहेका विभिन्न गण तथा गुल्मका खेलाडी सहभागी थिए । प्रतियोगितामा मोरङ जिल्लाको श्री शिवदल गण, सुनसरीको श्री भगवतीदल गण, धनकुटाको श्री भीमदल गण, भोजपुरको श्री नयाँ श्रीनाथ गण, तेह्रथुमको श्री यशोधन गण, संखुवासभाको श्री इन्द्रदल गुल्म, मकवानपुरस्थित राष्ट्रिय निकुञ्जको श्री रायदल गुल्म तथा कोशी टप्पु वन्यजन्तु आरक्षको श्री भीमकाली गुल्म सहभागी भएका थिए । नेपाली सेनाले सैनिकबीच खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती तथा आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले यस्ता प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएको छ ।