विजयपुर । विश्व बैंकले नेपालको शैक्षिक विकासमा सहयोग गर्ने जनाएको छ ।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग शिक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपालस्थित विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले शिक्षा क्षेत्र सुधारमा सहकार्यलाई थप सुदृढ बनाउने बताएका हुन् ।
भेटमा शिक्षा क्षेत्र सुधार, शैक्षिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली विकासका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।
दीर्घकालीन सुधार तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
मन्त्री पोखरेलले सरकारको प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण तथा शिक्षामा डिजिटाइजेसन र प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए ।