विजयपुर । धरान खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि महसुल भुक्तानी नगरेकालाई जरिवाना छुट दिएपछि १ करोड ७५ लाख २६ हजार ४ सय २९ रुपैयाँ संकलन भएको छ ।

शुक्रबार बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार लामो समयदेखिको बक्यौता बुझाउने २ सय ४४ घरपरिवारले ९९ लाख ६४ हजार ७ सय २५ रुपैयाँ बुझाएका छन् । उनीहरूलाई ४४ लाख ६० हजार ४ सय ४१ रुपैयाँ छुट दिइएको छ ।

५ हजारदेखि ३५ हजार रुपैयाँसम्म बक्यौता रहेका १ सय ६० घरपरिवारले १ करोड ६८ लाख ९ हजार ६ सय ३३ रुपैयाँ बुझाएका छन् भने उनीहरूलाई ५ लाख २२ हजार ३ सय ४१ रुपैयाँ छुट दिइएको छ । १ सय ५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बक्यौता रहेका ३ हजार ७ सय ३७ घरपरिवारले ५८ लाख ७२ हजार १३२ रुपैयाँ भुक्तानी गरेका छन् भने उनीहरूलाई १ करोड १२ लाख ७८ हजार ७ सय ७७ रुपैयाँ छुट दिइएको छ । यसरी कुल ६२ लाख ६१ हजार ५ सय ६० रुपैयाँ छुट दिइएको बोर्डले जनाएको छ । यस्तै, २ हजार ९ सय २३ घरपरिवारको २ करोड ३३ लाख ८ हजार ८ सय ११ रुपैयाँ खानेपानी महसुल अझै बाँकी रहेको छ ।

बक्यौता विवरणअनुसार ३ महिनादेखि ५ महिनासम्म बाँकी रहेका १ हजार २ सय १ घरपरिवारको १८ लाख २५ हजार ४ सय ३५ रुपैयाँ बक्यौता रहेको छ । ६ महिनादेखि ११ महिनासम्म बाँकी रहनेको २४ लाख ७९ हजार ५ सय ७० रुपैयाँ रहेको छ । १२ महिनादेखि २२ महिनासम्म बक्यौता रहेका ३ सय ८६ घरपरिवारको ४० लाख ८१ हजार ६ सय २३ रुपैयाँ बाँकी छ । २३ महिनादेखि २९ महिनासम्म तिर्न बाँकी रहेका १ सय ८६ घरपरिवारको २८ लाख ३९ हजार ३ सय ४ रुपैयाँ बक्यौता छ । त्यस्तै, ३० महिनादेखि ३४ महिनासम्म बक्यौता रहेका ५ सय ५२ घरपरिवारको ९१ लाख १२ हजार ८ सय ७९ रुपैयाँ बाँकी रहेको बोर्डले जनाएको छ । महसुल नतिर्ने उपभोक्ताको धारा काटिने खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाले बताए । उनले भने, “उपभोक्तालाई एक महिनाको छुट दिइएको थियो । अब सम्बन्धित शाखाले धारा काट्ने प्रक्रिया अघि बढाउँछ होला ।”