भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार लागूऔषध कारोबार र प्रयोगमा संलग्न ४ सय ८२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षमा लागूऔषधसँग सम्बन्धित २ सय ९७ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले ३ किलो ३ सय ७९ ग्राम ब्राउनसुगर, ४ किलो २ सय ४९ ग्राम गाँजा, १ हजार ८ सय ७० एम्पुल विभिन्न लागूऔषध, १ लाख ३ हजार ३ सय ५१ थान ट्याब्लेट र १ लाख ६ हजार १ सय ८ थान क्याप्सुल बरामद गरेको जनाएको छ । वैशाख महिनामा मात्र ५३ वटा मुद्दा दर्ता गरी ८६ जनालाई पक्राउ गरिएको र उनीहरूबाट ७ सय ९१ ग्राम ब्राउनसुगरसहित ठूलो मात्रामा प्रतिबन्धित औषधिहरू नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीले ‘अपरेसन ब्राउन’ अन्तर्गत वैशाख १० देखि १६ गतेसम्म १ सय ५२ जनालाई पक्राउ गरेको डिएसपी खड्काले जनाए । लागूऔषध दुव्र्यसनमा फसेका केही प्रयोगकर्ताहरूलाई भने आवश्यक प्रशिक्षण र परामर्श दिई अभिभावकको जिम्मा लगाइएको उनको भनाइ छ ।
५ करोड बढी जरिबाना
प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी चालु आर्थिक वर्षमा हालसम्म ५ सय ४९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूबाट कुल १ सय ६२ वर्ष १ महिना १ दिन कैद र ५ करोड ५ लाख ४३ हजार ९ सय ३४ रुपैयाँ जरिबाना असुलउपर गर्ने फैसला कार्यान्वयन भएको छ ।
वैशाख महिनामा मात्रै ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरी १६ वर्षभन्दा बढी कैद भुक्तानका लागि पठाइएको छ भने २६ लाख ९२ हजार ८ सय ५५ रुपैयाँ जरिबाना असुल गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पक्राउ पर्नेहरूमा नेपाली पुरुष र महिलाका साथै केही भारतीय नागरिकहरूसमेत रहेका छन् ।
झापा ट्रान्जिट पोइन्ट
देशभरि ब्राउनसुगर पठाउने ट्रान्जिट पोइन्ट झापा बनेको छ । भारतीय बजारहरूबाट खरिद गरी झापाबाटै देशभरि ब्राउनसुगर आपूर्ति गर्ने गरिएको छ । भारतीय सीमाक्षेत्र पानीट्याङ्की, गलगलिया, दिघलबैङ्कजस्ता बजारहरूबाट लागूऔषध ब्राउनसुगर ठूलो मात्रामा आपूर्ति भइरहेपछि सीमा नाकामा छेकेर सम्भव नहुने देखिएको छ ।
पानीट्याङ्की, गलगलिया, दिघलबैङ्कजस्ता ठाउँमा ब्राउनसुगर बिक्री गर्ने बस्ती नै रहेको छ । जहाँ ब्राउनसुगर सस्तो र सजिलै किन्न पाइन्छ । पछिल्लो समय सबैभन्दा धेरै पैसा कमाउने उपाय लागूऔषधको कारोबार बनेको छ । खुला सीमा भएका कारण प्रहरी प्रशासनलाई सीमावर्ती बजारहरूमा खुल्लमखुल्ला लागूऔषध बिक्री भइन्जेलसम्म यो समस्या नियन्त्रण गर्न असम्भव देखिएको छ । नेपालीहरूको भविष्य अन्धकार बनाउँदै लगेको यो समस्याप्रति गम्भीर बन्न भारतीय सरकारलाई दबाव दिनु आवश्यक देखिएको छ ।